भविष्यमा उत्पन्न हुन सक्ने विविध सुरक्षा खतराको सामना गर्न तयार रहन सेनालाई प्रधानमन्त्रीको निर्देशन

भविष्यमा उत्पन्न हुन सक्ने विविध सुरक्षा खतराको सामना गर्न तयार रहन सेनालाई प्रधानमन्त्रीको निर्देशन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाले नेपाली सेनाका १५२ जना अधिकृत क्याडेटहरुलाई सहायक सेनानी दर्जाको आयुक्त पद प्रदान गरेका छन् । भक्तपुरको खरिपाटीस्थित नेपाली सैनिक प्रतिष्ठानमा संचालित अधिकृत क्याडेट तालिम सफलतापूर्वक सम्पन्न गरेका अधिकृत क्याडेटहरुलाई प्रधानसेनापति थापाले बुधवार आयुक्त पद प्रदान गरेका हुन् ।

आयुक्त पद पाउनेमा सि.सं.५८ अधिकृत क्याडेट तालिमका १४ जना महिला, ११४ जना पुरुष, ४ जना विदेशी, सि.सं.४८ पदिक र हुद्धा अधिकृत क्याडेट तालिमका १८ जना पदिक र हुद्धा अधिकृत क्याडेट र श्रीलंकामा तालिम पुरा गरि स्वदेश फिर्ता भएका सि.सं.५५ का २ जना अधिकृत क्याडेट रहेका छन् ।

कार्यक्रम प्रधानसेनापति महारथी थापाले सि.सं.५८ अधिकृत क्याडेट तालिममा प्रथम हुने अधिकृत क्याडेट सुरेन्द्र बहादुर बोहरा तथा सि.सं.४८ पदिक र हुद्धा अधिकृत क्याडेट तालिममा प्रथम हुने अधिकृत क्याडेट सन्तमान श्रेष्ठलाई Sword of Honour, सि.सं.५८ अधिकृत क्याडेट तालिममा महिलातर्फ प्रथम हुने महिला अधिकृत क्याडेट कृपा अधिकारीलाई “Cane of Honour“ र Best in Academic Award  प्रदान गरेका छन् । त्यसका साथै केन्याबाट सहभागी भएका अधिकृत क्याडेट किपकिरुई रुट्टो वेनार्डलाई  The Best International Officer Cadet प्रदान गरिएको छ ।

सेना विविध राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय जिम्मेवारीपूरा गर्न सक्षम एक बहुआयामिक संगठन हो : प्रधानमन्त्री

प्रधानसेनापति थापाले नवआयुक्त सहायक सेनानीहरु प्रधानमन्त्री के.पी. शर्मा ओलीले पठाएको सम्बोधन वाचन गरेर समेत सुनाएका थिए । प्रधानमन्त्री ओलीले नवआयुक्त अधिकृतहरुलाई तालिम सफलतापूर्वक सम्पन्न गरेकामा बधाई दिंदै तालिमको दौरान क्याडेटहरुले देखाएको सहनशीलता, कठिन परिश्रम र दृढताको प्रशंसा गरेका थिए ।

प्रधानमन्त्री ओलीको सन्देशमा राष्ट्रिय एकता र राष्ट्रिय हितहरुको संरक्षण गर्ने कार्यमा नेपाली सेनाले विगतदेखि नै उल्लेखनीय कार्य गर्दै आईरहेको र नेपाली सेनाले सदैव संवैधानिक सरकारको मातहत र निर्देशनमा आफुलाई व्यवसायीक र मर्यादित संगठनको रुपमा स्थापित गर्दै आएको बताइएको थियो ।

प्रधानमन्त्रीको सम्बोधनमा भनिएको छ ‘ विशिष्ट सांगठनिक क्षमताका आधारमा देशभित्र विपद् व्यवस्थापन, राष्ट्र निर्माणका कार्यहरु, नागरिक सैनिक सम्बन्ध बिस्तार र राष्ट्रिय संकटमा नेपाली जनतासंग कांधमा कांध मिलाउदै नेपाल र नेपाली जनताप्रति सदा बफादार रही आफ्नोे कार्य गर्दै आएको नेपाली सेना विविध राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय जिम्मेवारीहरु पूरा गर्न सक्षम एक बहुआयामिक संगठनको रुपमा विकसित भएको छ । ’

प्रधानमन्त्री ओलीले पठाएको सन्देशमा कोरोना भाईरस को संक्रमणबाट बच्न हालका दिनमा नेपाली सेनाले खेलेको भूमिकाको समेत स्वागत गरेका छन् । त्यसैगरी मित्रराष्ट्र चीनबाट नेपालीहरुलाई उद्धार गरी ल्याउन, भक्तपुर खरिपाटी स्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्रमा उनीहरुलाई क्वारेन्टिन गरी राख्नको लागि बासस्थानको निर्माण गर्न एवम् क्वारेन्टिन अवधिभर उनीहरुको स्वास्थ्य, सरसफाई तथा खानपीनको उचित व्यवस्था गर्न नेपाली सेनाले खेलेको भूमिकाको समेत प्रधानमन्त्रीले प्रशंसा गरेका छन् ।

भविष्यमा उत्पन्न हुन सक्ने विविध सुरक्षा खतराहरुको साथै विभिन्न किसिमका महामारीहरुको सामना गर्न नेपाली सेना र आन्तरिक शान्ति सुरक्षासंग सम्बद्ध सुरक्षा निकायहरु समेत सदैव सजग र सतर्क एवम् आपसी समन्वयमा रहन नितान्त जरुरी रहेको समेत उक्त सन्देशमा उल्लेख गरिएको थियो । प्रधानसेनापति थापाले नवआयुक्त अधिकृतहरुलाई हार्दिक बधाई तथा शुभकामना दिंदै आफू र मातहतका जवानहरुको सुरक्षा सुनिश्चित गर्दै राष्ट्र र राष्ट्रवासीहरुको विश्वास र भरोसा माथी खरो रुपमा उत्रिने विश्वास व्यक्त गरेका थिए ।