काठमाडौं – संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले लकडाउनमा घरमै बसेका निजामती कर्मचारीलाई विभिन्न काम गर्न निर्देशन दिएको छ ।
कोरोना रोकथाम तथा नियन्त्रणका लागि आवश्यक सक्रियता बढाउन मन्त्रालयले कर्मचारीलाई घरबाटै गर्न सकिने काम गर्न बुधबार निर्देशन दिएको हो ।
अधिकांश कर्मचारी घरमै रहेकोले मन्त्रीस्तरको निर्णय गर्दै मन्त्रालयले सम्भव भएसम्मका काम गर्न निर्देशन दिएको हो ।
कर्मचारीहरूले आफू बसोबास गरेको क्षेत्रमा कोरोना प्रभावित ठाउँबाट कोही व्यक्ति आएको पाइएमा क्वारेन्टाइनमा राख्न सहयोग गर्नुपर्ने मन्त्रालयको भनाइ छ।
‘कुनै व्यक्ति क्वारेन्टिनमा बसेको छैन भने वडा कार्यालय, प्रशासन र प्रहरीकोमा जानकारी गराउनुपर्छ,’ मन्त्रालयले कर्मचारीलाई भनेको छ ।
कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिए स्वास्थ्य संस्थामा जान आग्रह गर्ने, आवश्यक परे वडा, गाउँपालिका वा नगरपालिकामा खबर गर्ने जिम्मेवारी पनि कर्मचारीले पाएका छन् ।
लगत संकलन, राहत वितरणलगायत सरकारले गरेका काममा सघाउनुपर्नेछ । दैनिक उपभोग्य वस्तुको मूल्य अस्वभाविक बढेको पाइए सम्बन्धित निकायमा खबर गर्ने काम पनि कर्मचारीलाई मन्त्रालयले दिएको हो ।
लकडाउनका बेला अनावश्यक घरबाहिर जान नदिने, सामाजिक दूरी कायम गर्ने र घरबाहिर जानुपरे मास्क लगाउन कर्मचारीले आग्रह गर्नुपर्नेछ ।




प्रतिक्रिया