दशैँमा यात्रुलाई राहत : पेट्रोलियमको मूल्य नबढे सार्वजनिक यातायातको भाडा पनि नबढ्ने

दशैँमा यात्रुलाई राहत : पेट्रोलियमको मूल्य नबढे सार्वजनिक यातायातको भाडा पनि नबढ्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – पेट्रोलियम पदार्थको मूल्य वृद्धि नभए आगामी दशैँमा सार्वजनिक यातायातको भाडा नबढ्ने भएको छ ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष सरोज सिटौलाले दशैँका नाममा यात्रुसँग तोकिएभन्दा बढी भाडा नलिइने स्पष्ट पारेका छन् ।

काठमाण्डुमा बिहीबार आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै सिटौलाले असोज २३ गतेदेखि दशैँका लागि सार्वजनिक सवारीसाधनको अग्रिम टिकट बुकिङ खुला हुने जानकारी दिए । असोज २५ गतेसम्मको यात्राका लागि टिकटको कुनै समस्या नहुने उनले बताए ।

‘घटस्थापनापछिको १ हप्ता यातायातका साधनबाट आवतजावतमा विभिन्न समस्या र चुनौती थपिन सक्छन्,’ उनले भने, ‘तर सरोकारवाला सबै निकाय मिलेर ती समस्याको समाधान गर्नुपर्छ ।’

दशैँमा विशेषगरी दाङ, अर्घाखाँची, लुम्बिनी क्षेत्र र सुदूरपश्चिम जाने यात्रुको चाप बढी हुने सिटौलाले बताए । ताप्लेजुङ, जुम्ला र कालिकोटजस्ता दुर्गम जिल्लामा यात्रुको आवश्यकताअनुसार थप सवारीसाधन पठाउन केही समस्या रहेको उनको भनाइ छ ।

विगतका वर्षहरूमा जस्तो दशैँमा घर जान टिकट पाउनै मुस्किल हुने अवस्था अहिले नरहेको दाबी गर्दै उनले यात्रुलाई निर्धारित भाडादरमै सेवा उपलब्ध गराइने बताए ।

पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको अवस्थामा बाहेक दशैँलाई कारण देखाएर भाडा नबढाइने उनको भनाइ छ ।

यात्रुले तोकिएकोभन्दा बढी भाडा तिर्नुपर्ने अवस्था आउन नदिने प्रतिबद्धता व्यक्त गर्दै उनले यातायात क्षेत्रका समस्या समाधान गर्न सम्बन्धित सबै निकायबिच समन्वय आवश्यक रहेको बताए ।