काठमाडौं– नेपाली सेनाका पांच जना उपरथीहरुको काज सरुवा भएको छ । सैनिक स्रोतले दिएको जानकारीअनुसार प्रधानसेनापति पूर्णचन्द्र थापाको निर्देशनमा सैनिक सचिव विभागले बुधवार उपरथीहरु ईश्वर हमाल, शशि बहादुर सिंह,बालकृष्ण कार्की र निर्मलकुमार थापाको सरुवा गरेको हो ।
सैनिक कमाण्ड तथा स्टाफ कलेजमा कार्यरत उपरथी हमाललाई प्रबन्धरथीको कार्यालय, सैनिक तालिम डक्ट्रिन महानिर्देशनालयका उपरथी शशिबहादुर सिंहको आफ्नो जिम्मेवारीका साथै राष्ट्रिय सुरक्षा परिषदको सचिवालय समेतको कार्य गर्ने गरी सरुवा भएको छ । सुदुरपश्चिका पृतनापति कार्कीलाई सैनिक कमाण्ड तथा स्टाफ कलेज र सुरक्षा परिषदमा कार्यरत उपरथी थापालाई सुदुरपश्चिम पृतनाको पृतनापतिमा सरुवा गरिएको छ ।
प्रधानसेनापति थापाले आफु निकटकालाई दोहोरो जिम्मेवारी दिएको भन्दै आलोचना भइरहेको बेला उनले फेरी उपरथीलाई दोहोरो जिम्मेवारी दिएका हुन् । उपरथी सिंहलाई मात्र होईन अनडफको फोर्स कमाण्डरमा छनौट भइसकेका उपरथी हमाललाई पनि उनले प्रवन्धरथीमा सरुवा गरेका छन् । सेनामा प्रवन्धरथीलाई निकै महत्वपूर्ण जिम्मेवारी ठानिन्छ । हाल सैनिक सचिव रहेका सहायकरथी प्रेम शाहीलाई उनले विशेष फौज बाहिनीको बाहिनीपतिको जिम्मेवारी समेत दिएका छन् । शाहीलाई दिइएका दुवै जिम्मेवारी सेनामा शक्तिशाली मानिन्छ ।
त्यसैगरी युद्धकार्य महानिर्देशनालयको महानिर्देशक रहेका उपरथी राजेन्द्र कार्कीलाई प्रधानसेनापतिको प्रत्यक्ष मातहत रहेको सेनाका निति नियमहरु कार्यान्वयन भएको नभएकोबारे अनुगमन गर्ने कार्यालयको समेत जिम्मेवारी दिएका छन् ।
निरिक्षणाअधिकृतको कार्यालयमा रहेका उपरथी अशोक सिग्देललाई अहिलेसम्म पनि पृतनापतिको जिम्मेवारी दिइएको छैन् । उनले अहिले प्रवन्धरथीको जिम्मेवारी समेत हेरिरहेका छन् । उपरथी हमालको सरुवा त्यहां भएपनि सिग्देलले नै उक्त जिम्मेवारी हेर्नेछन् । उपरथी सिग्देललाई चांडै उपत्यकाको पृतनापति ल्याउने तयारी रहेको स्रोतको दावी छ । प्रधानसेनापति थापाका यसअधि सैनिक सहायक रहेका सहायकरथी प्रेमध्वज अधिकारीले समेत दोहोरो जिम्मेवारी पाएका छन् । उनलाई १ बाहिनीको बाहिनीपतिका साथै नेपाली सेनाको छाउनी अस्पताल हेर्ने जिम्मेवारी समेत प्रधानसेनापतिले दिएका छन् ।




प्रतिक्रिया