कोरोना आशंका गरिएका २ जना अस्पतालबाट भागे

कोरोना आशंका गरिएका २ जना अस्पतालबाट भागे

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अमगरढी – कोरोना भाइरस संक्रमणको आशंकामा डडेल्धुरा सदरमुकामस्थित डडेल्धुरा अस्पतालको आइसोलेसन वार्डमा भर्ना भएका २ जना भागेका छन् ।

कोरोना संक्रमणको आशंका भर्ना भएका ४० वर्षीया महिला र १९ वर्षीय किशोर गरी २ जना शनिबार अपराह्न भागेका हुन् ।

अस्पतालका मेडिकल सुपरिटेन्डन्ट डा. जगदिशचन्द्र विष्टका अनुसार अस्पतालबाट भाग्नेमा उनीहरु चैत २६ गते कोरोना संक्रमणको आशंकामा अस्पतालको आइसोलसन वार्डमा भर्ना भएका थिए ।

दुवै जनालाई ज्वरो र रुघाखोकीको लक्षण देखिएको थियो । अस्पतालले २६ गते नै दुवै जनाको स्वाव (नमूना) संकलन गरी परीक्षणका लागि पठाएको थियो । तर रिपोर्ट भने आइसकेको छैन ।

भागेश्वर गाउँपालिका–३ नानीगडा घर भएका उनीहरु आमा–छोरा भएका जनाइएको छ । छोरा केही दिन अगाडि मात्रै भारतबाट आएका थिए ।

अस्पतालबाट भागेका दुवै जनाको खोजीमा प्रहरी परिचालन गरिएको छ । जिल्ला प्रहरी कार्यालय डडेल्धुराका नायव उपरीक्षक दधिराम न्यौपानेले दुवै जनाको खोजीका लागि टोली परिचालन गरिएको जानकारी दिए ।

यस्तै, गाउँपालिकाले पनि उनीहरुको खोजी गरिरहेको छ । गाउँपालिका अध्यक्ष कौशिला भट्टले उनीहरु घरमा आएको हुन सक्ने भनेर बिहानैदेखि घर तथा वरपरको गाउँमा खोजी गरिएको जानकारी दिइन् ।