काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले कोरोना भाइरसविरूद्ध विजय हासिल गर्न एकताको खाँचो रहेको औल्याएका छन् ।
नयाँ वर्ष २०७७ को अवसरमा सम्पूर्ण नेपालीलाई शुभकामना दिँदै उनले कोरोना भाइरस संक्रमितको स्वास्थ्य लाभ गर्दै संकटमा अहोरात्र खटिने स्वास्थ्यकर्मी, सरक्षाकर्मी र पत्रकारप्रति आभार प्रकट गरेका छन् ।
उनले भनेका छन्, ‘संकटको समयमा जीवनको समेत परवाह नगरि काममा खटिनु भएका स्वास्थकर्मीहरु, सुरक्षाकर्मीहरुतथा पत्रकार मित्रहरुप्रति आभार व्यक्त गर्दै महामारीका कारण दिवंगत हुनुभएकाप्रति समवेदना व्यक्त गर्दछु ।’
त्यस्तै उनले कोरोनाका कारण बेरोजगार तिव्र गतिमा बढेको भन्दै गरिबीको मारबाट जनतालाई बचाउन आवश्यक राहत कार्यक्रम ल्याउन सरकारसँग माग गरेका छन् ।
शुभकामनाको पूर्णपाठ:
नववर्ष २०७७ मा अब हामी प्रवेश गर्दैछौं । यो शुभ अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टीको र मेरो तर्फबाट पनि स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरुमा शान्ति, एकता र सुस्वास्थ्यको मंगलमय कामना गर्दछु,
विश्व मानव मात्रको दुस्मनको रुपमा फैलियको कोरोना भाइरसको विरुद्ध विजय हासिल गरि सबै नेपाली मात्रको हक, हित र स्वाभिमान संरक्षण गर्न सफलता मिल्नेछ भन्ने कामना गर्दछु । कोरोना भाइरसको संक्रमणबाट अस्वस्थ भइ स्वास्थ लाभ गरिरहेका सबैको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछु । साथै यो संकटको समयमा आफ्नो जीवनको समेत परवाह नगरि काममा खटिनु भएका स्वास्थकर्मीहरु, सुरक्षाकर्मीहरुतथा पत्रकार मित्रहरुप्रति आभार व्यक्त गर्दै महामारीका कारण दिवंगत हुनुभएकाप्रति समवेदना व्यक्त गर्दछु ।
कोरोना उपचारको क्रममा सरकारबाट देखिनुपर्ने गम्भिरता र सक्रियतामा कमि कमजोरि हुनु भएन । विशेषत यो संघर्षमा सरकारको उच्च तहमा बस्नेहरुमा देखिएको भ्रष्ट प्रवित्ति माथि समयमै नियन्त्रण गरिनेछ भन्ने कामना गर्दछु ।
कोरोना भाइरसले देशको अर्थ व्यवस्थामा ठूलो नकारात्मक धक्का पुर्याएको छ । साना र सिमान्त किसान, कृषि मजदुर, सहरी क्षेत्रका मजदुर, साना व्यवसायीहरु, पर्यटन व्यवसायी तथा साना उद्योगीहरुलाई ठूलो मार परेको छ । वेरोजगार तिव्र गतिमा बढेको छ । यो परिस्थितिमा देशको अर्थतन्त्रलाई बचाउन र बढ्दो गरिबीको मारबाट जनतालाई बचाउन आवश्यक राहत कार्यक्रम सरकारले अविलम्ब पेस गरोस भन्ने कामना गर्दछु ।
विकास र सुशासनको धेरै नारा दिए पनि विगतको वर्षमा देखिएको सरकारी क्रियाकलापले जनतामा आशा जगाउन सकेको छैन । यो यथार्थलाई सरकारले मनन गरि जनताको विश्वास जित्ने काम गरोस् भन्ने कामना गर्दछु ।
अन्तमा विगतको एक वर्षमा राप्रपा एक भएको छ । अब हामीले एक भएर देश र जनताको पक्षमा समर्पित हुँदै सशक्त राजनैतिक शक्तिको रुपमा प्रेरणादायी भूमिका खेल्नुपर्दछ भनि कामना र सुभेक्षा व्यक्त गर्दछु ।
डा प्रकाशचन्द्र लोहनी
अध्यक्ष
राप्रपा




प्रतिक्रिया