तिलगङ्गा आँखा अस्पतालमा दैनिक ५० देखि एक सय बिरामी

तिलगङ्गा आँखा अस्पतालमा दैनिक ५० देखि एक सय बिरामी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सञ्चिता घिमिरे/काठमाडौं – तिलगङ्गा आँखा अस्पतालको बहिरङ्ग विभाग र आकस्मिक कक्षमा गरी दैनिक ५० देखि १०० जनासम्म बिरामी आउने गरेका छन् ।

‘लकडाउन’ का समय भएकाले शल्यक्रिया गरेर ‘फलो अप’ का बिरामी वा अकस्मात् कुनै समस्या आइपरेका बिरामी आउने गरेको अस्पतालले जनाएको छ । सामान्य अवस्थामा दैनिक एक हजार बिरामी आउने गरेकामा अहिले झण्डै १०० जनासम्म आइरहेको अस्पतालले जनाएको छ ।

ती बिरामीमध्ये शल्यक्रिया गरेर ‘फलोअप’ आउने र आकस्मिक सेवा लिन आउने दुवै बराबर सङ्ख्यामा छन् । अस्पतालले सबै सेवा नियमित गरे पनि अत्यावश्यक बिरामीलाई मात्रै अस्पताल आउन भनिरहेको अस्पतालका निर्देशक डा रोहित सैँजुले बताए ।

‘लकडाउन’ पहिले दैनिक धेरै शल्यक्रिया हुने गरेकामा अहिले सातामा औसत सात÷आठ वटासम्म शल्यक्रिया भइरहेको अस्पतालले जनाएको छ ।

अस्पतालले आँखाका नियमित बिरामीलाई यहाँ कार्यरत चिकित्सकको टेलिफोन नम्बर उपलब्ध गराएको छ । बिरामीले आवश्यक पर्दा ती नम्बरमा चिकित्सकसँग सम्पर्क गरी आफ्नो समस्या राख्ने गरेका छन् ।

चिकित्सकले अति आवश्यक हुँदा अस्पतालमा बोलाउने तर कुनै समस्या सुन्दा त्यो सामान्य समस्या भएमा नजिकैका औषधि पसलमा गएर औषधि किनेर प्रयोग गर्न भन्ने गरेको उनले बताए ।

अस्पतालले नयाँ बिरामीको समस्या सुनेर अस्पताल आउन पर्ने वा नपर्ने सल्लाह दिने गरेको छ भने पुराना बिरामीको अस्पतालमा रहेको विवरणबाट उसको पहिलेको समस्याका बारेमा बुझ्ने गरेको छ । बिरामीको ‘हिस्ट्री’ हेर्दा उसको समस्या जटिल भएमा मात्रै अस्पताल बोलाउने गरिएको निर्देशक डा सैँजुले बताए ।

अस्पतालले बिरामी गेटबाट प्रवेश गर्नासाथ सामान्य स्वास्थ्य जाँचको व्यवस्था गरेको छ । बिरामीको विवरण सोध्दा शङ्का लागेका व्यक्तिलाई उसको तापक्रम हेर्ने र मास्क नलगाएको व्यक्तिलाई मास्क लगाएर र सेनिटाइजरले हात सफा गरेर मात्रै प्रवेश गराइन्छ । यदि कुनै व्यक्तिमा कोभिड–१९ को शङ्का लागेमा उसलाई नजिकैको कोभिड क्लिनिक पठाउने व्यवस्था मिलाइएको छ ।

अस्पतालले नयाँ बानेश्वरस्थित सिभिल अस्पताल वा सिनामङ्गलस्थित काठमाडौँ मोडल अस्पतालमा पठाउने व्यवस्था मिलाएको छ । त्यस्तै, अस्पतालको क्षेत्रफल ठूलो भएकाले भित्र सामाजिक दूरी कायम गराउन पनि कठीन नभएको उनले बताए ।

अस्पतालमा बिरामीको चाप कम भएकाले आवश्यक सङ्ख्यामा मात्रै कर्मचारी आउने गरेका छन् । चिकित्सक, अरु स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सरसफाइ गर्ने व्यक्तिसमेत गरि दैनिक ५० देखि १०० जनासम्म कर्मचारी अस्पतालमा आइरहेको निर्देशक डा सैँजुले बताए । अरु कर्मचारीसमेत आवश्यक पर्नासाथ सेवामा आउनका लागि तयारी अवस्थामा रहेको उनले बताए ।

अस्पतालमा आवश्यक स्वास्थ्य सामग्री पनि पर्याप्त नभएको अस्पतालले जनाएको छ । स्वास्थ्यकर्मीका लागि आवश्यक पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट (पिपिई) अहिले झण्डै १० थान मात्रै रहेको छ । सङ्क्रमितको सङ्ख्या बढेपछि थप सामग्री आवश्यक पर्नै भएकाले थप सामग्री माग गरिएको हो । स्वास्थ्य मन्त्रालयसँग थप सामग्री माग गरिए पनि अहिलेसम्म नपाएको उनको गुनासो छ ।

अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीले मास्क, पञ्जा, गाउन पनि प्रयोग गरिरहेका छन् । मास्क र पञ्जा प्रयोग गरेपछि फाल्ने भए पनि गाउन दैनिक धोएर पटक पटक प्रयोग भइरहेको छ ।