कोरोनाको प्रतिकार्यमा सक्षम हुनेछौँः मुख्यमन्त्री शाही

कोरोनाको प्रतिकार्यमा सक्षम हुनेछौँः मुख्यमन्त्री शाही

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुर्खेत – कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कोभिड–१९ विरुद्धको प्रतिकार्यमा सक्षम हुने विश्वास व्यक्त गरेका छन् ।

नयाँ वर्ष २०७७ का अवसरमा शुभकामना सन्देश दिँदै उहाँले विकास र समृद्धिको अभियानमा अगाडि बढ्दै गर्दा अप्रत्यासितरुपमा कोरोना भाइरसले निम्त्याएको सङ्कटको कुनै पनि हालतमा सामना गरिने उल्लेख गरेका छन् ।

शुभकामना सन्देशमा उनले भनेका छन्, ‘विश्व मानवजातिका विरुद्ध खडा भएको यो सङ्कटले हामीलाई विकास र समृद्धिको अभियानबाट विचलित बनाउने छैन, बरु यो सङ्कटको सामना गर्न हामी सक्षम हुनेछौँ ।’ प्रदेश सरकार सम्पूर्ण साधनस्रोत तथा संयन्त्रको परिचालनसहित सङ्कट निवारण गर्न लागिपरेकाले कोही पनि नागरिक त्रसित एवं निराश नहुन मुख्यमन्त्री शाहीले सन्देशमा उल्लेख गरेका छन् ।

महामारीको रोकथामका लागि नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहले गरेका प्रयासलाई सबैले आआफ्नोतर्फबाट सहयोग गर्न आग्रह गर्दै उनले सन्देशमा सबै बाधा, अवरोध र चुनौतीलाई पन्छाउँदै विकास र समृद्धिको अभियान सफल बनाइ समतामूलक, समृद्ध र समाजवादी देश निर्माण गर्न सफल हुने विश्वाससहित नयाँ वर्षका अवसरमा स्वदेश तथा विदेशमा रहेका दाजुभाइ, दिदीबहिनीहरुमा सुख, शान्ति, सुस्वास्थ्य, समृद्धि र दिर्घायुको कामना गरेका छन् ।