विदेशबाट आएका नागरिक खोज्दै स्थानीय सरकार

विदेशबाट आएका नागरिक खोज्दै स्थानीय सरकार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनगढी –कोरोना भाइरस संक्रमितको खोजी गर्न स्थानीय सरकारले विदेशबाट आएका नागरिकको खोजी अभियान थालेका छन् । कैलालीको लम्कीचुहा नगरपालिका र जानकी गाउँपालिकाले तथ्यांक सकलन अभियान सकेका छन् भने टीकापुर नगरपालिकाले मंगलवारदेखि अभियान शुरू गरेको छ ।

लम्कीचुहाले ४८४ र जानकीले २३७ जना विदेशबाट आएको पत्ता लगाएका छन् । यसरी पत्ता लगाएका व्यक्तिको सोमवारदेखि र्‍यापिड टेस्ट शुरू गरिएको लम्कीचुहाका स्वास्थ्य प्रमुख जयन्ती बिसीले जानकारी गराइन् । ‘अझै लुकेका हुन सक्ने सम्भावना भएकाले जनप्रतिनिधिहरू खोज्ने अभियानमै हुनुहुन्छ,’ बिसीले भने, ‘लम्कीका २ नागरिकमा कोभिड –१९ संक्रमण देखिएपछि झन् त्रास बढेको छ । हामीले सम्पर्कमा नआएका नागरिक पनि खोज्न थालेका हौं ।’

कैलालीको धनगढीपछि ठूलो जनसंख्या भएको नगरपालिका टीकापुरमा पनि अभियान मंगलवारदेखि शुरू भएको स्वास्थ्य प्रमुख बलबहादुर रावलले जानकारी दिए । रावलका अनुसार टोली बनाएर स्वास्थ्यकर्मी र स्वयंसेविका गरी २५४ जना परिचालन गरिएको छ । परिचालित स्वास्थ्यकर्मी र स्वयंसेविकाले विदेशबाट आएका व्यक्तिको तथ्यांक संकलन गर्ने, साबुनपानीले हात धुन सिकाउने र साबुन वितरण गर्ने जनाइएको छ ।

यसबाहेक विदेशबाट आएकालाई सेल्फ क्वारेन्टाइनमा बस्न अनुरोध गर्ने तथा कोभिड–१९ का लक्षण तथा बच्ने उपायबारे जानकारी गराउनेछन् । ३ दिनभित्र तथ्यांक संकलन गर्ने रणनीतिअनुसार काम शुरू गरिएको स्वास्थ्य शाखा संयोजक रावलले बताए ।

‘३३० जना विदेशबाट आएकाहरूको तथ्यांक टीकापुर नगरपालिकासँग छ । यसको दोब्बर संख्या हुन सक्ने अनुमान हाम्रो छ,’ रावलले भने, ‘तथ्यांक संकलनपछि र्‍यापिड टेस्ट गरिने छ ।’ नगरपालिकामा ६० जनाको र्‍यापिड टेस्ट र ३७ जनाको स्वाब परीक्षण भइसकेको छ ।

सोमवार कैलालीको लम्कीमा थप १ जनामा कोरोनाको नयाँ संक्रमण फेला परेपछि जिल्लाका नागरिक त्रस्त छन् । लम्कीमा संक्रमण देखिएकी ६५ वर्षीया १७ जनाको टोलीसहित जिल्ला प्रशासन कार्यालय पर्साको सिफारिसमा केही दिनअघि लम्की पुगेका थिए ।

लम्कीचुहा नगरपालिकास्थित लम्की बहुमुखी क्याम्पसमा रहेको क्वारेन्टाइनमा उनीहरूलाई राखिएको थियो । उनीहरू नेपाल र भारतको वीरगञ्ज नाकामा सडकमा बसेर चिया बेच्ने काम गर्नेहरू भएको बताइन्छ । तीमध्ये केही लम्कीको भुरुवा निवासी हुन् भने केही त्यहाँ घर नभएका रहेको पनि बताइन्छ । सोमवार कोरोना संक्रमण पुष्टि भएकी महिला वीरगञ्ज नाका नजिक चिया बेच्ने काममा संलग्न रहेको बताइन्छ ।

क्वारेन्टाइनमा बसेकै बेला त्यहाँं रहेका सबैको र्‍यापिड टेस्ट गरिएको नगरपालिकाले जनाएको छ । क्वारेन्टाइनमा रहेका सबैको र्‍यापिड टेस्ट नेगेटिभ आएपनि स्वाबको पीसीआर टेस्टका लागि केन्द्रीय प्रयोगशालामा पठाइएको नमूना पोजेटिभ आएपछि संक्रमित महिलालाई धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएको छ ।

क्वारेन्टाइनमा बसेकाहरूको र्‍यापिड टेस्ट नेगेटिभ आएपछि नयाँ वर्ष मनाउन घर जान पाउनुपर्ने माग गर्न थालेकाले उनीहरूलाई पीसीआरको रिपोर्ट नआउँदै गत चैत २९ गते घर पठाइएको नगरपालिकाले जनाएको छ । ती महिलाको अवस्था सामान्य रहेको सेती प्रादेशिक अस्पतालका डा. जगदीश जोशीले बताए ।

संक्रमितसँग क्वारेन्टाइनबाट घर पठाइएका बाँकी १६ जनालाई समेत सोमबार फेरि क्याम्पसकै क्वारेन्टाइनमा राखिएको छ । संक्रमितको लम्कीमा घर नभएको र आफन्तका घरमा गएको बुझिएको छ । संक्रमित क्वारेन्टाइनबाट फर्किएपछि उनी बसेका आफन्तको घर र अरु सम्पर्क भएकाहरूको पहिचान भइरहेको छ । उनीहरूलाई पनि क्वारेन्टाइनमा राखिने वडाध्यक्ष जनक बमले जानकारी दिए ।