लकडाउनमा कडाई, त्रिविको पीसीआर मेसिन प्रदेश २ मा पठाउने समितिको निर्णय

लकडाउनमा कडाई, त्रिविको पीसीआर मेसिन प्रदेश २ मा पठाउने समितिको निर्णय

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – सरकारले कोरोना भाइरसको संक्रमण उपचारमा प्रयोग हुने स्वास्थ्य सामाग्री चीनबाट ल्याउने प्रक्रिया अन्तिम चरणमा पुगेको जनाएको छ ।

बुधबार उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वको उच्चस्तरीय समितिको बैठकले जिटूजी प्रक्रियामार्फत स्वास्थ्य सामाग्री खरिद प्रक्रिया अन्तिम चरणमा पुगेको जानकारी पाएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायणप्रसाद बिडारीले बताए ।

स्वास्थ्य मन्त्रालय र परराष्ट्र मन्त्रालयको टोलीले बुधबार भिडियो कन्फ्रेन्सबाट उपकरण, औषधिको मागबारे जानकारी गराएको बिडारीले बताए । यस्तै दरभाउका विषयमा पनि कुराकानी भएको उनले जानकारी दिए ।

समितिले उपकरण र औषधि खरिदमा निजी क्षेत्रले गर्ने आयातलाई पनि सहजीकरण गर्ने निर्णय गरेको छ । यस्तै, स्वास्थ्य मन्त्रालय र मातहतका निकायबाट हुने खरिदको प्रक्रियालाई पनि निरन्तर राख्ने निर्णय समितिले गरेको छ ।

यस्तै बैठकले आपूर्तिलाई सहज राख्ने र सुरक्षालाई कडाइ गर्ने कुरालाई समन्वयात्मक ढंगले लैजाने र भन्सार नाकामा सहज र सुरक्षित बनाउने निर्णयसमेत गरेको छ । यसबाहेक वस्तुगत रूपमा राहत पाउनयोग्य भनेर निर्धारण गरिएका व्यक्तिलाई राहत उपलब्ध गरिने निर्णय भएको बिडारीले जानकारी दिए ।

यस्तै समितिले संयुक्त राष्ट्रसंघअन्तर्गत अफगानिस्तानमा रही काम गर्दै आएका नेपाली नागरिकलाई उद्धार गर्ने निर्णयसमेत गरेको छ । संयुक्त राष्ट्रसंघको विशेष अनुरोध रहेकाले उपयुक्त पद्धतिबाट उद्धार गर्ने निर्णय भएको उनले बताए ।

सरकारले कोरोना संक्रमितको संख्या बढेसँगै यससँग लड्न नयाँ रणनीति अख्तियार गर्ने भएको छ । संक्रमित बढेको अवस्थामा नयाँ रणनीति अख्तियार गर्ने निर्णय गरेको हो ।

हाल संक्रमितको संख्या १६ पुगेको छ । केही जिल्लाहरुमा र्‍यापिड टेस्टबाट पोजेटिभ देखिएका केसलाई पीसीआर परीक्षणका लागि पठाइएको छ ।

समितिको निर्णय सुनाउँदै सचिव बिडारीले भने, ‘संक्रमितको संख्या बढेको छ । यसलाई मध्यनजर गर्दै अब परीक्षण, पहिचान र उपचारको रणनीतिमा केन्द्रित हुनुपर्ने निर्णय भएको छ ।’

बैठकले त्रिभुवन विश्वविद्यालयसँग रहेको एक थान पीसीआर मेसिन प्रदेश २ मा पठाउने प्रक्रिया अघि बढाउने पनि निर्णय गरेको छ । संक्रमितको संख्या बढिरहेको तर्फ मध्यनजर गर्दै मेसिन पठाउन लागिएको हो ।