काठमाडौं – विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)को रोकथाम र नियन्त्रणका लागि सरकारले लकडाउनको घोषणा गरेपछि उपत्यका काठमाडौंमा काम गर्ने मजदुरहरु पैदल हिँडेरै जिल्ला जाने क्रम बढेको छ ।
लकडाउनको अवधि लम्बिँदै जाँदा जीविका धान्न गाह्रो भएपछि उपत्यकाभित्र रहेका मजदुरहरु राजमार्ग हुँदै आ–आफ्नो घरफर्कने क्रम बढेको हो । सरकारले यसअघि चैत २८ र २९ गते दुई दिन उपत्यकाबाहिर सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णय गरे पनि प्रदेश सरकारको दबाबपछि उक्त निर्णय फिर्ता लिएको थियो ।
सरकारले कोरोना संक्रमणको अवस्था हरेर मात्र लकडाउनको बारेमा थप निर्णय लिने बताएको छ । हालसम्म नेपालमा १६ जना व्यक्तिहरुमा कोरोना संक्रमण देखिएको छ । लकडाउनको समयमा जीविका चलाउन गाह्रो भएका मजदुरलाई स्थानीय सरकारले नै व्यवस्थापन गर्ने भनिए पनि राहत नपाएको गुनासो उपत्यकामा बढ्दै गएको छ ।
सरकारले ठूला आयोजना सञ्चालन गर्न दिने निर्णयबाट उक्त आयोजनामा काम गर्ने मजदुरको व्यवस्थापन भए पनि काठमाडौं उपत्यकामा दैनिक ज्याला मजदुरी गरेर जीविका चलाउँदै आएका व्यक्तिहरु भने संकटमा परेका छन् ।
काठमाडौंबाट ७ देखि १० दिन पैदल यात्रा गरेरै मजदुरहरु आ–आफ्नो जिल्ला फर्कन क्रम बढेको छ । तर सरकारले भने मजदुरहरु पैदल यात्रा गरेर घर फर्किंदा समेत व्यवस्थापनमा ध्यान दिन सकेको छैन । नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले सरकारलाई मजदुरको हकमा राहत प्याकेज घोषणा गरेर अगाडि बढ्न सुझाव दिएको बताउनुभयो । उहाँले भन्नुभयो– ‘लकडाउनको कार्यान्वयन गर्न सबै प्रतिबद्ध भएर लाग्नुपर्छ, मजदुरहरु जहाँ जुन अवस्थामा रहेका छन्, उनीहरुको त्यही व्यवस्थापन गर्ने काममा सरकारको ध्यान जान जरुरी छ ।’यो समाचार आजको समाचारपत्र दैनिकमा छ ।




प्रतिक्रिया