पूर्वसभामुख महरा दोषी हुन नसक्ने अदालतको फैसला

पूर्वसभामुख महरा दोषी हुन नसक्ने अदालतको फैसला

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – जिल्ला अदालत काठमाडौंले बलात्कार प्रयासको अभियोग लागेका पूर्वसभामुख कृष्णबहादुर महराले सफाइ पाउने मुख्य आधार नै पीडित भनिएकी महिलाको इन्कारी बयान भएको ठहर गरेको छ ।

न्यायाधीश अम्मरराज पौडेलले गरेको फैसलाअनुसार महरालाई कुनै पनि आधारमा दोषी ठहर गर्न मिल्ने प्रमाण नभेटिएको फैसलाको पूर्ण पाठमा उल्लेख छ । जिल्ला अदालतबाट महराले गत ५ फागुन २०७६ मा सफाइ पाएर छुटेको भए पनि फैसलाको पूर्ण पाठ भने केही समयअघि मात्रै आएको हो ।

पीडित भनिएकी संसद् सचिवालयकी कर्मचारीले अनुसन्धानका क्रममा र पछि अदालतमा बकपत्र गर्दा आफूमाथि बलात्कारको प्रयासको आरोप खण्डन गरेको, अनुसन्धानका क्रममा नै उनले इन्कारी निवेदन दिएको, बकपत्रमा महरा आफ्नो कोठामा नआएको भनी लेखाएको लगायतका कारण विश्लेषण गर्दै महरा दोषी हुन नसक्ने फैसलामा उल्लेख छ ।

अदालतले ‘वयस्क उमेरको पीडित जाहेरवालाले सुझबुझका साथ बिना कुनै दबाब अदालतसमक्ष गरेको बकपत्रलाई यस अदालतले निर्णायक प्रमाणको रूपमा लिनुपर्ने हुन्छ’ भनेको छ र उनकै बयानका आधारमा महरा निर्दोष रहेको फैसला सुनाएको छ । ‘कृष्णबहादुर महरा पीडितको डेरा कोठामा गई रक्सी सेवन गरी हातपात गरी पीडितउपर जबर्जस्ती करणीको उद्योग गरेका हुन् भनी बिनाआधार कसुर कायम गर्न मिल्ने देखिएन,’ फैसलामा भनिएको छ, ‘प्रमाणको अभावमा प्रतिवादी महराले अभियोग दाबीबाट सफाइ पाउने ठहर्छ ।’

त्यस्तै, फैसलामा पीडित महिलाको स्वास्थ्य अवस्थाको विषयमा देखिएको विषयलाई पनि उल्लेख गरिएको छ । पीडित महिलाको स्वास्थ्य परीक्षण गर्ने चिकित्सकले अदालत पुगेर ‘पीडितको तत्कालको स्वास्थ्य अवस्था हेरी मानसिक रोग विशेषज्ञसँग परामर्श गर्न सुझाव दिइएको’ बताएका थिए । विशेषज्ञ चिकित्सकको यस्तो भनाइलाई अदालतले ‘पीडित महिलाले आफूले मानसिक रोगको औषधि सेवन गरिरहेको छु भन्ने दाबी पुष्टि भएको’ भनेको छ । यो समाचार आजको राजधानी दैनिकमा छ ।