काठमाडौं – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) आन्तरिक राजनीति पेचिलो बन्दै गएको छ । पार्टीमा एक्लिँदै गएका प्रधानमन्त्री केपी शर्मा ओलीले मजबुत स्थिति बनाउन गरेका सबै प्रयास असफल भएका छन् ।
प्रधानमन्त्री ओली निःशस्त्र जस्तै भएका छन् । उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्य सिफारिस गर्ने पार्टी सचिवालयको निर्णयलाई कार्यान्वयन गर्न आनाकानी गरिरहेकाले ओलीविरुद्ध खुलेरै मोर्चाबन्दी गर्न विपक्षीलाई सहज भएको छ ।
पछिल्लोपल्ट राजनीतिक दल ऐन संशोधन अध्यादेश ल्याएर पार्टी फुटाउन सहज हुने व्यवस्था गर्नु र समाजवादी पार्टी फुुटाउन गरेको प्रयास पर्दाफास भएपछि ओलीलाई झन् गाह्रो भएको छ । पार्टी र संसदमा आफ्नो रणनीति र उपस्थिति बलियो देखाउन ओलीले गरेको पार्टी फुटाउन प्रयास असफल भएपछि उनी आफैं असुरक्षित भएका छन् । विपक्षी दल एक भएका छन् भने पार्टी्भित्रै उनीविरुद्ध खुलेआम मोर्चाबन्दी सुरू भएको छ ।
माधव नेपाललाई फकाउन प्रयास असफल !
गत बिहीवार उपाध्यक्ष वामदेव गौतम निवास भैंसेपाटीमा भएको सचिवालयका बहुमत सदस्यको भेलाले प्रधानमन्त्री ओलीविरुद्ध रणनीति बनाएपछि बालुवाटार झस्किएको छ । सचिवालय, स्थायी कमिटी हुँदै केन्द्रीय कमिटी बैठकबाट ओलीविरुद्ध निर्णय गराउने र प्रधानमन्त्रीबाट हटाउने रणनीति बनेको थाहा पाएपछि ओली लचिलो बनेका छन् । तर अब धेरै ढिला भइसकेको संकेत नेकपा शीर्ष नेताले गरेका छन् ।
ओलीविरुद्ध तयार भएको रणनीतिलाई असफल पार्न र वरिष्ठ नेता माधव नेपाललाई फकाउन ओली पक्षका नेता सक्रिय छन् । उपप्रधानमन्त्री ईश्वर पोखरेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र प्रदेश ५ सरकारका मुख्यमन्त्री शंकर पोखरेल विपक्षीलाई फकाउन सक्रिय भएपनि सफल हुन सकिरहेका छैनन् । ओलीलाई प्रधानमन्त्री पदमा कायमै राख्ने शर्तमा मन्त्रीहरू र मुख्यमन्त्री समेत फेरबदल गर्न सकिनेसम्मको प्रस्ताव आएपनि नेता नेपाल समूह प्रधानमन्त्री ओलीको राजीनामाको अडानमा कायमै रहेको छ ।
ओली समूहका नेता र नेपाल समूहबाट भीम रावल, सुरेन्द्र पाण्डे र रघु पन्तबीच सोमवार छलफल भएको थियो । महासचिव विष्णु पौडेलले मध्यस्थता गरेका थिए । तर छलफलबाट कुनै निष्कर्ष निस्कन सकेन । ओली समूह प्रधानमन्त्रीको राजीनामा बाहेकका विकल्पमा छलफल गर्न तयार देखिएको छ भने नेपाल समूह प्रधानमन्त्रीको राजीनामाकै अडानमा छ । जसले गर्दा सहमति हुन सकेन ।
माधव नेपाल समूहलाई फकाउन नसकेको अवस्थामा ओली पार्टीको समीकरणमा कमजोर हुने र प्रधानमन्त्री पदमा टिकिराख्न गाह्रो पर्ने अवस्था छ । पार्टीको बहुमतले ओलीलाई राजीनामा दिन निर्देशन दिने, प्रधानमन्त्रीबाट हटाउने, संसदीय दलको नेताबाट हटाउनेसम्मका कारवाही गर्नसक्ने सम्भावना छ । नेकपा एकीकरणपछि प्रधानमन्त्री ओलीले गरेका एकलौटी र अप्रिय व्यवहारका लागि माधव नेपाल पक्ष फकाउन रणनीतिमा पर्ने सम्भावना देखिँदैन ।
अन्तिम विकल्प : सौहार्द बहिर्गमन कि लज्जास्पद निष्कासन ?
प्रधानमन्त्री ओलीका गतिविधिका कारण नेकपा सरकार र पार्टीको छवि जनस्तरमा बिग्रिएको गम्भीर आरोप नेकपाका अधिकांश नेताको छ । तसर्थ ओलीले प्रधानमन्त्री पदबाट राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्ने सुझाव उपाध्यक्ष वामदेव गौतम लगायत नेताले ओलीलाई दिएका छन् । ओलीले स्वेच्छिक राजीनामा दिएर प्रधानमन्त्री पद छाडेमा सौहार्द बहिर्गमन हुनसक्ने नेकपा स्रोतले जनाएको छ ।
प्रधानमन्त्री ओली भने सचिवालयका शीर्ष नेताको सुझाव मान्न तयार छैनन् । सोमबार साँझ आफू निकट सांसदसँग बालुवाटारमा छलफल गर्र्दै ओलीले आफूले राजीनामा नदिने अडान लिएका छन् । प्रधानमन्त्री ओलीले छलफलमा भनेका छन्, ‘मुलुक कोरोना भाइरसको महामारीसँग जुधिरहेको संकटका बेला अहिले सरकारमाथि पार्टी्भित्रैका शीर्ष नेताहरुको अगुवाइमा घेराबन्दी भइरहेको छ । देशमा सरकार परिवर्तन गरेर राजनीतिक अस्थिरता निम्त्याउने कोसिस भइरहेको छ, यसबारे तपाईहरु सचेत हुनुपर्छ, प्रतिवाद गर्नुपर्छ ।’
ओलीसामु वरिष्ठ नेता माधवकुमार नेपाललाई फकाउनबाहेक अर्काे कुनै उपाय देखिँदैन । ओलीको आश्वासनमा नेपाल मान्ने अवस्था समेत देखिँदैन । यस्तो बेला सौहार्द बहिर्गमन नभए ओलीलाई अप्रिय लाग्ने ‘लज्जास्पद निष्कासन’ गर्ने रणनीतिसम्म नेकपाका ओलीइतरका नेताले बनाएका छन् । पहिलो चरणमा स्थायी कमिटी बैठक बोलाएर ओलीलाई राजीनामा दिन सुझाव दिने, स्थायी कमिटी बैठकको सुझाव नमाने केन्द्रीय कमिटी बैठकबाट निष्कासनको निर्णय गर्नसम्मको रणनीतिमा नेताहरू अगाडि बढेका छन् ।
प्रधानमन्त्री ओली सचिवालय, स्थायी कमिटी, केन्द्रीय कमिटी, संसदीय दल सबैतिर अल्पमतमा छन् । ओलीको लज्जास्पद बहिर्गमन गराउनुपर्ने अवस्थामा ओलीइतरका नेताले आफ्नो समूहलाई झन् बलियो गराउन राष्ट्रपतिदेखि मुख्यमन्त्रीहरूसम्मलाई फेर्ने समझदारी समेत गरेका छन् । ओली पक्षीय मुख्यमन्त्रीलाई हटाएर नेपाल र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पक्षीय नेतालाई मुख्यमन्त्री बनाइने स्रोतको दाबी छ ।
राष्ट्रपतिमा विद्यादेवी भण्डारीलाई हटाएर झलनाथ खनाललाई बनाइने छ । त्यसका लागि आवश्यक पर्ने दुईतिहाइ बहुमत जुटाउन नवगठित जनता समाजवादी पार्टी (जसपा) सँग समेत सहकार्य हुनसक्ने नेकपा स्रोतले जनाएको छ । समाजवादी पार्टीले उठाउँदै आएको संविधान संशोधनमा मागमा ओलीइतरको नेकपा समूह सकारात्मक समेत रहेको छ ।




प्रतिक्रिया