नेपाल-भारत हवाई रुटबारे नयाँ सहमतिको तयारी, पर्यटनमन्त्री खड्का भारत जाँदै

नेपाल-भारत हवाई रुटबारे नयाँ सहमतिको तयारी, पर्यटनमन्त्री खड्का भारत जाँदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपालले लामो समयदेखि माग गर्दै आएका भैरहवा, नेपालगन्ज, महेन्द्रनगर र जनकपुरबाट अन्तर्राष्ट्रिय उडानका लागि थप हवाई प्रवेशमार्ग खोल्ने विषयमा भारत सकारात्मक देखिएको छ।

भारतीय पक्षले महेन्द्रनगर, जनकपुर र भैरहवा हुँदै विभिन्न उचाइबाट हवाई प्रवेशमार्ग उपलब्ध गराउने विषयमा सकारात्मक संकेत दिएको नेपाली अधिकारीहरूले बताएका छन्।

त्यस्तै, भारतले पश्चिम बंगालको बागडोगरा विमानस्थलका लागि नेपालको पूर्वी हवाई क्षेत्र प्रयोग गर्न गरेको प्रस्तावमा नेपाल सकारात्मक छ। तर, रक्सौल विमानस्थलका लागि भने भारतसँग प्राविधिक विवरण माग गरिएको छ।

यस विषयमा थप छलफल र सहमति जुटाउन पर्यटनमन्त्री खड्का राज पौडेल मंगलबार भारत भ्रमणमा जाने कार्यक्रम छ। उनी नोभेम्बर २० देखि २२ सम्म नयाँदिल्लीमा आयोजना हुने पहिलो साङ्घाई सहयोग संगठन (एससीओ) सभ्यतागत संवाद मञ्चमा समेत सहभागी हुनेछन्।

भारतले नोभेम्बर २० देखि २२ सम्म नयाँदिल्लीमा एससीओकोे बैठक आयोजना गर्दैछ । भारतका केन्द्रीय संस्कृति तथा पर्यटनमन्त्री गजेन्द्र सिंह शेखावतले तीनदिने उक्त मञ्चको उद्देश् एससीओ सदस्य राष्ट्रहरूको साझा सभ्यतागत सम्पदामार्फत संवाद र सहकार्य प्रवर्द्धन गर्नुका साथै सांस्कृतिक सम्बन्ध विस्तारका नयाँ सम्भावनाको खोजी गर्नु रहेको बताएका छन्।

नेपालसहित चीन, काजकिस्तान, उज्बेकिस्तान, इरान, बेलारुस, आर्मेनिया, साउदी अरेबिया, कम्बोडिया र ताजिकिस्तानसहित १५ देशले मञ्चमा सहभागिता जनाउँदैछ ।