आर्थिक वृद्धिदर २.२७ प्रतिशत मात्र

आर्थिक वृद्धिदर २.२७ प्रतिशत मात्र

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – कोरोना महाव्याधिका कारण तेस्रो चौमासिकमा डेढ महिना लामो लकडाउनका कारण नेपाली अर्थतन्त्रको विस्तार २.२७ प्रतिशतले हुने सरकारी प्रक्षेपण छ। यो प्रक्षेपण जेठदेखि होटल र रेष्टुरेन्ट र अन्तर्राष्ट्रिय उडानबाहेक अन्य क्षेत्र पूर्ववत् सामान्य अवस्थामा फर्कने अनुमानका आधारमा तयार गरिएको हो।

यद्यपि कोरोना भाइरसको संक्रमण नियन्त्रण भइ जेठदेखि आर्थिक गतिविधि पूर्ववत् अवस्थामा फर्कनेमा अनिश्चितता भने कायमै छ। अनुमानित आर्थिक वृद्धिदर नाकाबन्दीको वर्ष आर्थिक वर्ष २०७२/७३ लाई अपवाद मान्ने हो भने २०६२/६३ यताकै कमजोर हो।

संशोधित अनुमानअनुसार, गत आवमा ३४ खर्ब ५८ अर्ब रुपैयाँ अनुमानित अर्थतन्त्रको आकार २०७६/७७ मा ३७ खर्ब ६७ अर्ब रुपैयाँको हुने केन्द्रीय तथ्यांक विभागको अनुमान छ। विभागले माघदेखि चैतसम्मको तथ्यांकका आधारमा यो अनुमान सार्वजनिक गरेको हो।

विभागले त्रैमासिक रूपमा कूल गार्हस्थ उत्पादन (जीडीपी) को अनुमान तयार गर्छ। दोस्रो र तेस्रो त्रैमासको अनुमान यथार्थपरक हुने गरेको पाइन्छ। सरकारले चालू आवमा ८.५ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य राखेको भए पनि कोरोना भाइरसको महामारीका कारण आर्थिक वृद्धिदरमा ठूलो गिरावट आएको हो।

बजेटको मध्यावधि समीक्षासम्म अर्थमन्त्री डा.युवराज खतिवडा सरकारले तय गरेकै आर्थिक वृद्धिदर हासिल हुनेमा विश्वस्त देखिन्थे। जसका कारण सरकारले मध्यावधि समीक्षामा पनि आर्थिक वृद्धि दरको प्रारम्भिक लक्ष्य भेट्टाउने भन्दै संशोधन गरेको थिएन।

अर्थशास्त्री केशव आचार्यले फागुनसम्म आर्थिक गतिविधि सामान्य रहेकाले चैतपछिका चार महिना आर्थिक गतिविधिलाई आघात पर्ने बताए। ‘लकडाउनले सम्पूर्ण आर्थिक गतिविधि बन्द हुने भए पनि लकडाउन खुलेलगत्तै सबै आर्थिक गतिविधि एकसाथ खुल्छ भन्ने हुँदैन’, उनले भने, ‘केन्द्रीय तथ्यांक विभागको अनुमानअनुसार पर्यटन र हवाई उडानबाहेक अन्य क्षेत्र लकडाउनपछि यथावत् हुन्छ भने पनि उद्यम, व्यवसायले श्रमिकदेखि कच्चा वस्तुसम्म सबै आवश्यकता जुटाएर पुनः गतिविधि सञ्चालन गर्न समय लाग्छ।’यो खबर आजको अन्नपूर्णपोष्ट दैनिकमा छ ।