काठमाडौं – प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सरकारले राजनीतिक र नैतिक आधार गुमाएको बताएको छ ।
बुधबार बसेको कांग्रेस केन्द्रीय समिति बैठकले सरकार लोकतान्त्रिक मूल्यमान्यतालाई कमजोर गर्ने, नेपालको संविधानका मूलभूत भावनालाई भत्काउने कार्यमा निरन्तर लागि परेको आरोप लगाएको छ ।
कांग्रेसले सरकारले कोरोना महामारीको जोखिम र गम्भीर अवस्थामा यसको उचित व्यवस्थापनमा जुट्न नसकेको आरोप लगाएको छ ।
‘सरकार कोरोनाको महामारीको जोखिमपूर्ण र गम्भीर अवस्थामा यसको उचित व्यवस्थापन गर्नुको साटो यस संवेदनशील समयलाई लोकतान्त्रिक भावना विरोधी कार्य गर्ने अवसरका रुपमा प्रयोग गरिरहेको छ,’ निर्णयमा भनिएको छ ।
एकपछि अर्को गरी भ्रष्टाचारका कार्य भइरहेको भन्दै कांग्रेसले मेडिकल सामाग्री खरिदमा समेत भ्रष्टाचार हुनु दुर्भाग्यपूर्ण भएको बताएको छ ।
‘पछिल्लो समयमा विवादास्पद दुई वटा अध्यादेश जारी गर्नु, राजनैतिक दल विभाजन गर्ने कार्यमा सरकार स्वयं संलग्न भई सांसदलाई अपहरण गर्ने जस्तो कुकृत्य गर्नु, त्यस्ता कार्यको छानविन अनुसन्धान गर्न माग गर्दा जाहेरी सम्म दर्ता गर्न इन्कार गर्नु, सरकारको वदनियत पुष्टि गर्ने घटना हुन्,’ कांग्रेसको निर्णयमा उल्लेख छ ।




प्रतिक्रिया