काठमाडौँ – नेपाल पत्रकार महासङ्घ काठमाडौँ शाखालाई काठमाडौँ महानगरपालिका–१४ का वडाध्यक्ष शोभा सापकोटाले आज पाँच क्विन्टल चामल लगायत खाद्यान्नका साथै स्वास्थ्य सामग्री प्रदान गरेकी छन् ।
वडाध्यक्ष सापकोटाले केही व्यावसायिक सङ्घसंस्थासँग समन्वय गरी ती सामग्री शाखाका अध्यक्ष सन्तराम विंडारीलाई प्रदान गरेकी हुन् । मंगलबार वडाध्यक्ष सापकोटाले पुराना र अग्रज पत्रकार रहेको उक्त शाखालाई भवन निर्माणका लागि आफ्नो वडामा जग्गा व्यवस्थापनका साथै अन्य सहयोग गर्न आफूले पहल गर्ने प्रतिबद्धता व्यक्त गरिन् । शाखाका अध्यक्ष विंडारीले भवन निर्माणका लागि वडाले गर्न लागेको सहयोगको सराहना गर्दै कोभिड–१९ को सङ्क्रमण न्यूनीकरण गर्न सरकारले जारी गरेको लकडाउनमा अग्रस्थानमा क्रियाशील सञ्चारकर्मीको चुल्हो निभ्न नदिने शाखाको अभियान रहेको बताए ।
अभाव, दबाब र प्रभाव बिनाको पत्रकारिताको खाँचो औँल्याउँदै उनले खाद्य सामग्री सङ्कलन गरी आफ्ना सदस्यलाई वितरण गरेको जानकारी दिए । शाखाले ५० पत्रकारलाई आज राहत वितरण गरेको छ । शाखाले लकडाउनको समयमा जीविकोपार्जन गर्न कठिन भएका आफ्ना सदस्य पत्रकारलाई चामल, दाल, मस्यौरालगायत खाद्य सामग्री प्रदान गरेको हो । यसअघि शाखाले एकसय पत्रकारलाई राहत दिएको थियो ।
यसैबीच कालीमाटीस्थित ज्ञानतीर्थ संरक्षण समाजले आर्थिक अवस्था कमजोर भएका करीब २०० विपन्न मानिसलाई आज भोजन उपलब्ध गराएको छ । उक्त कार्यक्रममा वडाध्यक्ष सापकोटाले हुने मानिसले नहुनेलाई राहत तथा भोजन दान गरेर पुण्य कार्य गरेकामा खुशी व्यक्त गर्नुभयो । समाजका अध्यक्ष विनोद डङ्गोलले विभिन्न दाताको सहयोगमा राहत सङ्कलन गरी मानवीयताका आधारमा दुःख पाएका मानिसलाई वितरण गरेको जानकारी दिए ।




प्रतिक्रिया