काठमाण्डु – नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले नागरिकको विश्वास जित्ने गरी पार्टीलाई रूपान्तरण गर्ने प्रतिबद्धता जनाएका छन् ।
१५औँ महाधिवेशनबाट सभापतिमा निर्वाचित भएपछि शनिबार पार्टी कार्यालय सानेपामा कार्यकर्ता तथा समर्थकलाई सम्बोधन गर्दै थापाले आफूले प्राप्त गरेको जिम्मेवारीलाई अधिकार नभई जवाफदेहिताका रूपमा लिएको बताए ।
‘तपाईंहरूले विश्वास गरेर पार्टीको जिम्मेवारी सुम्पिनुभएको छ । यो जिम्मेवारीप्रति कृतज्ञता व्यक्त गर्न आएको हुँ । यो परिवर्तनका लागि गरिएको विश्वास हो । यो विश्वासलाई अधिकार सम्झिन्नँ, जिम्मेवारी सम्झन्छु,’ उनले भने ।
विशेष महाधिवेशनपछि भएको १५औँ महाधिवेशनबाट नयाँ नेतृत्व चयन हुँदैमा मात्रै पार्टी परिवर्तन नहुने उनको भनाइ थियो । पार्टीको काम गर्ने शैली बदल्नुपर्ने र जिम्मेवारी तथा जवाफदेहिता बढाउनुपर्ने उनले बताए ।
‘महाधिवेशनमा प्रतिस्पर्धा भयो । कोही जित्छौँ, कोही हार्छौँ । यो कसैले विजय प्राप्त गर्ने र कसैले हार्ने विषय होइन । अब हामी सबै साथी मिलेर नागरिकको विश्वास जित्न जाने हो,’ थापाले भने ।
सभापतिमा प्रतिस्पर्धा गरेका श्यामकृष्ण खड्गीलाई धन्यवाद दिँदै उनले लोकतान्त्रिक अभ्यासले पार्टीलाई जीवन्त बनाउने बताए । प्रतिस्पर्धामा रहेका सबैलाई साथमा लिएर अघि बढ्ने उनको प्रतिबद्धता थियो ।
थापाले नागरिक र कांग्रेसबिचको विश्वास टुटेको उल्लेख गर्दै त्यसलाई पुन:स्थापित गर्न सबै नेता तथा कार्यकर्ता एक ठाउँमा उभिनुपर्ने बताए । किसान, उद्योगी, व्यवसायीदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीसम्मले भरोसा गर्ने पार्टी बनाउने उनको भनाइ थियो ।
‘नेपाली कांग्रेसलाई माया गर्ने लाखौँ शुभेच्छुकलाई फेरि कांग्रेसमा फर्किन र घरघरमा कांग्रेसलाई स्वागत गर्ने वातावरण बनाउनुपर्छ । नयाँ इतिहास बनाउने तागत लिएर आएका छौँ,’ उनले भने, ‘बोलेर हुँदैन, काम गर्ने शैलीमा परिवर्तन गर्नुपर्छ ।’
महाधिवेशनबाट पारित प्रतिवेदन अध्ययन गर्न १ हप्ताको समय दिइएको जानकारी दिँदै थापाले सबैको सुझाव प्राप्त भएपछि पहिलो केन्द्रीय कार्यसमिति बैठकबाट कार्ययोजना बनाइने बताए ।
कांग्रेसले गलत व्यक्तिको पक्षमा नबोल्ने र कसैको अनुचित भार नबोक्ने पनि उनले स्पष्ट पारे । कानुन सबैका लागि समान हुनुपर्ने उल्लेख गर्दै कुनै व्यक्तिले गल्ती गरे त्यसको जवाफदेहिता सम्बन्धित व्यक्तिले नै लिनुपर्ने उनको भनाइ थियो ।
‘कांग्रेस गलत मान्छेको पक्षमा बोल्दैन, उभिँदैन । कसैको पनि भारी कांग्रेसले बोक्दैन,’ थापाले भने ।
कांग्रेसलाई व्यक्तिगत फाइदा लिनेहरूको स्वार्थभन्दा माथि उठाएर सामाजिक लोकतन्त्रको मान्यताअनुसार अघि बढाउनुपर्नेमा पनि उनले जोड दिए । पार्टीको नेतृत्वमा प्राप्त जिम्मेवारीलाई व्यवहारमा उतार्दै नागरिकको विश्वास फर्काउने र कामबाटै परिवर्तन प्रमाणित गर्ने आफ्नो लक्ष्य रहेको उनले बताए ।



प्रतिक्रिया