काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा अोली सचिवालय बैठक छोडेर निस्किएको बताएका छन् ।
बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रवक्ता श्रेष्ठले प्रधानमन्त्री अोली व्यस्तता र शारीरिक अवस्था कारण देखाउँदै बैठक छोडेर बाहिरिएको बताएका छन् ।
‘बैठकमा सकेसम्म सबैजना बस्ने हो तर विभिन्न कारणले यसअघिदेखि नै निस्किने प्रचलन छँदैछ’, उनले भने, ‘आफ्नो केही व्यस्तताका कारण र केही शारीरिक कारणले समेत बैठकको पूरा समय बस्न नसकेर प्रधानमन्त्री जानु भएको हो ।’
सचिवालय बैठकले स्थायी कमिटीको एजेण्डा तय गर्ने जिम्मेवारी शीर्ष नेतालाई दिएको प्रवक्ता श्रेष्ठले बताए ।
‘सचिवालय बैठकले स्थायी कमिटीको एजेण्डा तय गर्ने जिम्मेवारी दुवै अध्यक्षलाई दिएको छ । अहिले पनि दुवै अध्यक्ष बालुवाटारमै सल्लाहमा हुनुहुन्छ’, श्रेष्ठले भने, ‘२० गते बसेको सचिवालय बैठकको मर्मअनुसार प्रस्ताव तयार पार्ने काममा दुवै अध्यक्ष जुट्नु भएको छ । बैठक बस्ने नबस्ने निर्णयको जिम्मा पनि अध्यक्षद्वयलाई सचिवालयले दिएको छ ।’




प्रतिक्रिया