काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा अोली र पुष्पकमल दाहाल प्रचण्ड छलफलमा जुटेका छन् । सचिवालयको बैठक बिना निष्कर्ष टुंगिएपछि दुवै अध्यक्ष बालुवाटारमा छलफलमा जुटेका हुन् ।
प्रवक्ता नारायणकाजी श्रेष्ठले सचिवालय बैठकपछि दुवै अध्यक्ष छलफलमा जुटेको जानकारी दिए ।
सचिवालय बैठकले स्थायी कमिटीको एजेण्डा तय गर्ने जिम्मेवारी शीर्ष नेतालाई दिएपछि दुवै अध्यक्ष छलफलमा केन्द्रीत भएका हुन् । सचिवालयको बैठक बिहीबार बिहान बोलाइएको छ । तर, नेताहरुबीच सहमति जुट्न नसक्दा बैठकको समय अनिश्चित बनेको छ । दुई अध्यक्षबीचको छलफलले बैठकको मिति र समय निर्धारण गर्ने प्रवक्ता श्रेष्ठले बताए ।
‘सचिवालय बैठकले स्थायी कमिटीको एजेण्डा तय गर्ने जिम्मेवारी दुवै अध्यक्षलाई दिएको छ । अहिले पनि दुवै अध्यक्ष बालुवाटारमै सल्लाहमा हुनुहुन्छ’, श्रेष्ठले भने ।
श्रेष्ठका अनुसार आजसम्म नसकिएको स्थायी कमिटीको गृहकार्य पनि दुवै अध्यक्षले गरिरहेको बताए । ‘अझै पनि गृहकार्य बाँकी रहेको दुवै अध्यक्षले सचिवालय बैठकमा जानकारी गराउनुभयो’, उनले भने, ‘अहिले पनि दुवै अध्यक्ष सल्लाह गरेर बैठकको कार्यसूची बनाउने र बैठक नै के गर्ने भन्नेबारे बसिरहनु भएको छ ।’




प्रतिक्रिया