काठमाडौं – कोरोना भाइरस (कोभिड–१९) को परीक्षण गर्दा ¥यापिड डाइगनोस्टिक टेस्ट (आरडीटी) लाई पूर्णरूपमा बन्देज लगाउन माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको छ ।
अधिवक्ता सन्तोष भण्डारी, ज्ञानेन्द्र आरनलगायतद्वारा बुधबार दायर गरिएको रिट निवेदनमा विश्व स्वास्थ्य संगठनले अस्वीकार गरेको आरडीटी टेस्टलाई नेपालमा प्रयोग भइरहेको उल्लेख गर्दै त्यसलाई प्रतिबन्ध लगाउन आदेशको माग गरिएको छ ।
पीसीआरले मानिसको जीनको परीक्षण गर्ने उल्लेख गर्दै यसको विश्वसनीयता शतप्रतिशत हुने रिट निवेदनमा उल्लेख गरिएको छ । आरडीटी परीक्षण विश्वसनीय नहुने भएकाले भारत र युरोपियन देशमा यसलाई बन्देज नै लगाइएको रिट निवेदनमा जनाइएको छ ।
सरकारले भरपर्दोरूपमा रहेको पीसीआर परीक्षणलाई भन्दा विश्वास नभएको आरडीटीलाई बढी मात्रामा प्रयोगमा ल्याइरहेको उल्लेख गर्दै यसले गर्दा राज्यको सम्पत्ति अनावश्यकरूपमा खेर गइरहेको पनि रिट निवेदनमा दाबी गरिएको छ ।
स्पेन र टर्कीले आरडीटी परीक्षण भरपर्दो नभएको उल्लेख गर्दै सम्बन्धित सामग्री चीनमा फिर्ता पठाएका सर्वोच्च अदालतलाई रिट निवेदनमार्फत जानकारी गराइएको छ । गत चैत २२ गते बसेको मन्त्रिपरिषद्को बैठकले कोरोना भाइरसको संक्रमणका बारेमा आरडीटी प्रविधिबाट परीक्षण गर्ने निर्णय गरेको थियो । रिट निवेदनमा सो निर्णय बदर गर्न माग गरिएको छ ।यो समाचार आजको समाचारपत्र दैनिकमा छ ।




प्रतिक्रिया