काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा. डिला संग्रौला पन्तले विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको परीक्षण कछुवाको चालमा भएकोले परीक्षणको दायरा बढाउन सरकारसग माग गरेकी छन् ।
प्रतिनिधिसभा सदस्यसमेत रहेकी सांसद संग्रौलाले सरकारले पिसिआर परीक्षणको दायरा बढाउन नसकेको बताइन् ।
‘मुलुक अहिले लामो लकडाउनको अवस्था मा छ । तर कोभिड–१९ चेक गर्ने बिधि कछुवाको चालमा छ । परिक्षण केन्द्रमा आवस्यक स्वास्थ्य सामाग्री को अभाव भैसकेको छ’, उनले भनिन् ।
त्यस्तै उनले लकडाउनले श्रमिक वर्ग मारमा परेको बताएकी छन् । सांसद संग्रौलाले अभियान्ताहरुले संकलन गरेको राहत श्रमिकहरुका लागि पर्याप्त नहुने बताउँदै श्रमिकको पक्षमा सरकारको ध्यान जानु आवश्यक रहेको औल्याइन् ।
‘अभियन्ताहरुले संकलन गरि सरकारी राहात कोषमा जम्मा गरिदिएको रकमबाट पाँच दश केजी चामल बाँड्दैमा श्रमिक एवं मजदुरको भोको पेट भरिदैन । यसबारे सरकारको ध्यान गएकै छैन’, उनले भनिन् ।
त्यस्तै छाया श्रममन्त्रीसमेत रहेकी नेतृ संग्रौलाले विदेशमा नेपालीहरु अलपत्र परेको अवस्थामा सरकार मुकदर्शक भएर बसेको आरोप लगाएकी छन् । सरकार आन्तरिक खिचातानीमा फसेको बताउँदै उनले किसानका तरकारी बारीमा कुहिएर गएको बताएकी छन् ।
त्यस्तै सांसद संग्रौलाले साना तथा मध्यम वर्गीय ब्यवसायीहरुले बैंक व्याज, पसल, गोदाम भाडा, गाडीको किस्ता, स्टाफहरुको खर्च धान्न सक्ने अवस्था नरहेको र तत्काल राहतका कार्यक्रम ल्याउन सरकारसँग माग गरेकी छन् ।
‘सरकारले राहतको मुर्तरुपमा कुनै योजना ल्याएको देखिन्न सबै निराश छन् । के सरकारले बन्द मात्र गरेर प्रशासन सडकमा उभियाउँदा आफ्नो सबै कर्तव्य पुरा भयो त ?’, उनले प्रश्न गरिन ।




प्रतिक्रिया