संसद बैठकका लागि ७ बुँदे निर्देशिकः सांसदलाई एकान्तवास, तोकिएको कुर्सीमा मात्र बस्नु पर्ने

संसद बैठकका लागि ७ बुँदे निर्देशिकः सांसदलाई एकान्तवास, तोकिएको कुर्सीमा मात्र बस्नु पर्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – आजबाट संसदको बजेठ अधिवेशन सुरु हुँदैछ । अधिवेशनमा सहभागी हुने सांसद र कर्मचारीहरुका लागि ७ बुँदे आचारसंहिता लागू गरिने भएको छ ।

बानेश्वरस्थित संसद भवनमा भएको राष्ट्रिय सभा कार्यव्यवस्था परामर्श समितिको बैठकले उक्त निर्णय गरेको हो ।

समितिले विश्व स्वास्थ्य संगठनले तोकेका सबै मापदण्डलाई पालना गर्दै एक मिटरको दूरी कायम गरेर दुई सिट छोडेर बस्ने व्यवस्था मिलाइने छ भने राष्ट्रिय सभा बैठक कक्षमा अधिवेशन अवधिभर सदस्यहरु नियमितरुपमा एउटै सिटमा बस्नेछन् ।

प्रधानमन्त्री, मन्त्री तथा राष्ट्रिय सभा दलको नेताबाहेक अन्य सदस्यहरुले आम रुपमा रोष्टम प्रयोग नगर्ने र आफू बसेको सिटमा रहेको माइकको प्रयोग गर्नेछन् ।

संसद भवनमा प्रवेश गर्दा र फर्कँदा फरक ढोकाको प्रयोग गरिने छ । क्यान्टिन र सभाहल बाहिर पनि अनावश्यक भीड नगर्न तथा दूरी कायम गर्न भनिएको छ ।

संसद भवनलाई बैठक अगाडि स्यानिटाइज तथा अन्य सरसफाईमा विशेष ध्यान दिइने बताइएको छ ।

दर्शक दिर्घामा कसैलाई पनि प्रवेश गर्न नदिइने तथा मिडियालाई आम रुपमा सचिवालयले फोटो उपलब्ध गराउने तथा फोटो खिच्न भीड नहुनेगरी व्यवस्थापन गर्ने सचिवालयले जनाएको छ ।

यस्ता छन् सात बुँदे आचारसंहिताः

-सबै सहभागीले बैठक कक्ष प्रवेश गर्दा अनिवार्य रुपमा साबुन पानीले हात धुनु पर्नेछ।
-बैठक अवधीभर सबैले अनिवार्य रुपमा मेडिकल मास्कको प्रयोग गर्नुपर्नेछ ।
-सबै सहभागीहरुले बैठक समयमा भौतिक दूरीको पालना गरि तोकिएको कुर्सीमा मात्र बस्नु पर्नेछ।
-सकेसम्म समूहगत छलफल नगर्ने, यदी गर्नै परेको अवस्थामा भौतिक दूरीको अनिवार्य पालना गर्नुपर्नेछ ।
-आफूलाई स्वास्थ्य सम्बन्धी कुनै पनि समस्या (ज्वोरो, खोकी, थकान, शरिर दुखाई आदी) देखा परेमा तुरुन्त स्वास्थ्यकर्मीलाई खबर गर्नुपर्नेछ ।
-बैठक हलबाट बाहिर निस्कनु परेमा पुनः प्रवेश गर्दा साबुन पानी वा ह्याण्ड स्यानिटाइजरको प्रयोग अनिवार्य गर्नुपर्नेछ ।
-बैठक अवधीभर घरमा गई स्वयम् एकान्तवासको नियमहरुको पालना गर्नु पर्नेछ ।

त्यस्तै बजेट अधिवेशनको कार्यतालिका पनि सार्वजनिक भएको छ । जसअनुसार आज ४ बजे राष्ट्रपतिबाट प्राप्त पत्र पढेर सुनाइने, शोक प्रस्तावहरु पारित गर्ने र राष्ट्रपतिले दुवै सदनलाई सम्बोधन गर्नेसम्बन्धी पत्र पढेर सुनाइनेछ ।

यस्तो छ बजेट अधिवेशनको समय तालिकाः

-वैशाख २८ गतेबाट प्री–बजेट छलफल
-जेठ २ गते नीति तथा कार्यक्रम
-जेठ ४ गतेबाट नीति तथा कार्यक्रममाथि छलफल
-जेठ ५ गते प्रधानमन्त्रीले नीति तथा कार्यक्रमाथि उठेका प्रश्नको जवाफ दिने
-जेठ १५ गते अर्थमन्त्रीले बजेट पेस गर्ने
-जेठ १८ गतेबाट बजेटमाथिको सैद्धान्तिक छलफल सुरु हुने
-जेठ २५ देखि असार १५ गतेसम्म विनियोजन विधेयक छलफल र पारित गरिने ।