सांसद अपहरण प्रकरणबारे सुवास नेम्वाङः हामी आपराधिक पक्षमा छैनौं

सांसद अपहरण प्रकरणबारे सुवास नेम्वाङः हामी आपराधिक पक्षमा छैनौं

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलका उपनेता सुवास नेम्वाङले सरकारले बेलैमा लकडाउन लगाएकाले कोरोना सङ्क्रमण फैलन नपाएको बताएका छन् ।

संसद्को छैटौं अधिवेशन सुरु भएको सन्दर्भमा प्रतिनिधिसभाको बैठकमा बोल्दै उपनेता नेम्वाङले नेपालका सन्दर्भमा लकडाउन कामयावी भएको बताएका छन् ।

‘कोरोना अन्य देशमा भयावह देखिएको छ । नेपालमा धेरै फैलन पाएन । सरकारले समयमै लकडाउन लगाएकाले फैलन पाएन । लकडाउनको विकल्प पनि थिएन,’ सांसद नेम्वाङले भने, ‘आजसम्म १ सय २ जना सङ्क्रमित फेला परेका छन् । २० जना निको भइसकेका छैनन् । सङ्क्रमितहरूमध्ये एकजनालाई पनि भेन्टिलेटरमा, आइसीयूमा राख्नु परेका छैन । सबै सामन्य अवस्थामा छन् ।’

त्यस्त्ै उनले सांसद अपहरण प्रकरणबारे सत्यतथ्य सदनमा आउने विश्वास व्यक्त गरेका छन् ।

‘सांसदको अपहरणको कुरा विवादै छैन, कुनै पनि नाममा यस्ता कामहरू हुनुहुँदैन । तर, भएको के हो । यथार्थ के हो ? त्यससम्बन्धी कुराहरू पनि यही संसद चल्दाचल्दैको अवस्थामा यथार्थ कुराहरू आउँछ भन्ने मलाई विश्वास छ’, उनले भने, ‘हामी कुनै पनि प्रकारका आपराधिक कार्यहरूको पक्षमा छैनौं । यो कुरा प्रस्ट शब्दमा भन्न चाहन्छु । म दोहोर्‍याउन चाहन्छु– हामी, हाम्रो दल, संविधानको कार्यान्वयन गर्दै यहाँ आइपुगेका छौं । देश र जनताको पक्षमा कार्यान्वयन गर्न चाहन्छौं ।’

नेकपा सांसद महेश बस्नेत, किसानकुमार श्रेष्ठ र पूर्वआईजी सर्वेन्द्र खनालविरुद्ध अपहरणको आरोपमा मुद्दा दर्ता भएको छ ।