काठमाडौं – नेपाली भूभाग लिम्पियाधुरा, लिपुलेक, कालापानी समस्यामा ‘चीन फ्याक्टर’ महत्वपूर्ण रहेको छ। पूर्वराजदूत मधुरमण आचार्यले लिपुलेक, लिम्पियाधुरा, कालापानीको सीमा समस्या चिनियाँ फ्याक्टर भुल्न नहुने बताए। उनले भने, ‘के चीन सहमतिमा भइरहेको छ, त्यो सोचनीय विषय छ।’ आचार्यले लिपुलेक भारतको मात्र होइन, रणनीतिक स्वार्थ रहेको हुन सक्ने बताए। चीनले यो मार्गलाई साउथ एसियाको प्रवेशको मार्गका रूपमा हेरेको हुन सक्ने औंल्याए।
‘यही बेला भारतको पूर्वसीमा नाथुलामा भारत–चीनको गोली हानाहान हुन्छ, यता लिपुलेकमा भारतका रक्षामन्त्रीले सडक उद्घाटन गर्छन्, लिपुलेक विषयमा चीन बोल्दैन,’ उनले प्रश्न गर्दै भने, ‘के यो चीनकै सहमतिमा बनाएको होइन यो गम्भीर विषय हो।’
सरकार, विपक्षी दललगायत सर्वपक्षीय सहमतिको दस्ताबेजका आधारमा त्रिदेशीय वार्ताबाट मात्रै यो समस्याको उनको धारणा छ। त्रिदेशीय विन्दु कायम नरहेको अवस्थामा लिपुलेक हुँदै उत्तरी जोड्ने सडक भारतले एकतर्फी निर्माण गर्दा चीनको मौनता रणनीतिक देखिन्छ।
अन्तर्राष्ट्रिय कानुनविद् डा. युवराज संग्रौलाले चीनको व्यापारिकबाहेक अरू स्वार्थ नहुने बताए। भारतको व्यापारिकका मात्र नभई सामरिक दृष्टिले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र अतिक्रमण गरिरहेको उनको ठहर छ। ‘व्यापारका लागि मात्र होइन, भारत अझै चीनले आक्रमण गर्ला भनेर डराइरहेको छ, सामरिक दृष्टिले पनि त्यो भूभाग अतिक्रमण गरिरहेको छ,’ उनले भने, ‘तर चीनलाई भारतले आक्रमण गर्ने भन्ने कुनै डर छैन।’यो समाचार आजको अन्नपूर्णपोष्ट दैनिकमा छ ।




प्रतिक्रिया