कांग्रेस उपसभापति र महामन्त्रीको मतगणना : चन्द्र भण्डारी र प्रदीप पौडेलले बनाउँदै फराकिलो अग्रता

कांग्रेस उपसभापति र महामन्त्रीको मतगणना : चन्द्र भण्डारी र प्रदीप पौडेलले बनाउँदै फराकिलो अग्रता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना भइरहेको छ। शनिबार बेलुकी साढे ७ बजेदेखि खुला उपसभापति र महामन्त्री पदका उम्मेदवारको मतगणना सुरु गरिएको हो।

निर्वाचन समिति संयोजक वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काका अनुसार उम्मेदवारहरूसँग छलफल गरेपछि उनीहरूकै रोहवरमा मतपेटिका खोलेर गणना सुरु गरिएको हो।

निर्वाचन समिति सदस्य सचिव राजु कटुवालका अनुसार उपसभापति र महामन्त्री पदको मतगणना पार्टी केन्द्रीय कार्यालय सानेपामा भइरहेको छ। मतगणनास्थलमा सीसी क्यामेरा जडान गर्नुका साथै गणनामा सहभागी हुने प्रतिनिधिहरूको नाम संकलन गरिएको छ।

यसअघि शुक्रबार राति सभापति पदको मतगणना सम्पन्न भएको थियो। सभापतिमा गगनकुमार थापा निर्वाचित भएका छन्। उनले प्रतिस्पर्धी श्यामकृष्ण खड्गीलाई पराजित गर्दै झन्डै ९४ प्रतिशत मत प्राप्त गरेका थिए।

कसको अग्रता ?

उपसभापति र महामन्त्री पदको मतगणनामा प्रारम्भिक नतिजाअनुसार विभिन्न उम्मेदवारले अग्रता लिएका छन्।

१४७ मत गणना हुँदा खुला उपसभापतितर्फ डा. चन्द्रकान्त भण्डारीले ७२ मत प्राप्त गरेका छन्।

ई. मधु आचार्यले ५२, गोविन्द भट्टराईले ५४, सुरेन्द्रराज पाण्डेले ४१, धनराज गुरुङले २८, दीपक गिरीले २१ र प्रा. डा. चन्द्रमोहन यादवले १३ मत पाएका छन्।

समावेशी उपसभापतिमा चौधरी अगाडि

केन्द्रीय उपसभापति (समावेशी) तर्फ विनोदकुमार चौधरीले ४७ मत प्राप्त गर्दै अग्रता लिएका छन्। जीवन परियारले ४२, सीता गुरुङले २१, फरमुल्लाह मंसुरले १७ र रञ्जित कर्णले ८ मत पाएका छन्।

महामन्त्रीमा प्रदीप पौडेलको अग्रता

केन्द्रीय महामन्त्री (खुला) तर्फ प्रदीप पौडेलले सर्वाधिक ९८ मत प्राप्त गरेका छन्। अमरसिंह पुन मगरले ५१, उदयशमशेर राणाले ४५, डा. सुनिलकुमार शर्माले ३१, गुरुराज घिमिरेले २४, नैनसिंह महरले १९, डा. सन्तोष उपाध्यायले ६ र शंकर तिवारीले २ मत पाएका छन्।

महिला महामन्त्रीमा डिना अगाडि

महिला महामन्त्रीतर्फ महालक्ष्मी उपाध्याय (डिना) ले ७० मत प्राप्त गरेकी छन्। डा. डिला संग्रौला (पन्त) ले ६१ र रीता खनालले १७ मत पाएकी छन्। मतगणना जारी रहेकाले यी नतिजा प्रारम्भिक हुन्।