मैले खतरा महशुस गरेको छैन, सुरक्षाकर्मी फिर्ता लगे हुन्छः नारायणकाजी श्रेष्ठ

मैले खतरा महशुस गरेको छैन, सुरक्षाकर्मी फिर्ता लगे हुन्छः नारायणकाजी श्रेष्ठ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रवक्ता नारायणकाजी श्रेष्ठले राज्यले दिएका सुरक्षाकर्मी फिर्ता लैजान आग्रह गरेका छन् ।

बुधबार सामाजिक सञ्जालमार्फत नेता श्रेष्ठले आफूलाई सुरक्षा खतरा नभएकाले राज्यले दिएका सुरक्षाकर्मी फिर्ता लैजान सरकारसँग आग्रह गरेका हुन् ।

आज नयाँपत्रिकाले ‘सीमामा सुरक्षाकर्मी अभाव, जिम्मा पाएको सशस्त्र नेताको अगुवा–पछुवा’ शीर्षकमा समाचार प्रकाशित गरेको थियो । प्रवक्ता श्रेष्ठले चुनाव अघिदेखि सशस्त्रले सुरक्षा दिँदै आएको उल्लेख गरेका छन् ।

‘मैले पूर्वगृहमन्त्रीले लिने गरेको गाडी र तेल सुविधा सुरूदेखि नै लिइनँ । सशस्त्र बलको पछुवा गाडी र सुरक्षाकर्मी आवश्यक नभएको ठानी केही समयपछि मैले नै जोड गरेर फर्काएँ,’ उनले भनेका छन्, ‘तर गत चुनावअघि राज्यको सुरक्षा संयन्त्रले सुरक्षाको कारणले राख्न अनुरोध गरेकाले राखिएको हो ।’

प्रवक्ता श्रेष्ठले आफूले नियमित रूपमा सशस्त्रको पछुवा गाडी प्रयोग नगर्ने पनि बताएका छन् । उनको सुरक्षामा १२ जना सशस्त्र प्रहरी खटिएका छन् ।

‘मैले आफूलाई सुरक्षा खतरा महशुस गरेको छैन । राज्य संयन्त्रले त्यस्तो आकलन गरेको छ भने पनि मेरोभन्दा राष्ट्रको सुरक्षा महत्वपूर्ण हुन्छ,’ श्रेष्ठले भनेका छन्, ‘त्यसैले राज्यको आवश्यकताका लागि कुनै पनि क्षण फिर्ता लैजान अनुरोध छ । यसबाट राज्यलाई अप्ठ्यारो परेको भए क्षमायाचना ।’