चीन र भारतले लिम्पियाधुराबारे सम्झौता गर्दा हामीलाई सोधेनन्ः सुवास नेम्वाङ

चीन र भारतले लिम्पियाधुराबारे सम्झौता गर्दा हामीलाई सोधेनन्ः सुवास नेम्वाङ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नकेपा) का संसदीय दलका उपनेता सुवासचन्द्र नेम्बाङले भारत–चीनले भूकम्पको मौका छोपेर नेपाली भूमि अतिक्रमण गर्दै लिम्पियाधुरालाई व्यापारिक नाकाको रुपमा अगाडि बढाउने सम्झौता गरेको दाबी गरेका छन् ।

सरकारले ल्याएको नीति तथा कार्यक्रममाथि नेकपाबाट प्रतिरक्षा गर्र्दै उपनेता नेम्बाङले नेपालले ०७२ सालको भूकम्पको भग्नावशेष सोहोर्दै गर्दा लिम्पियाधुराबारे सम्झौता गरेकाले आफूहरुलाई स्वीकार्य नहुने चेतावनी दिए ।

‘२० औं दिनमा दुई छिमेकीले एउटा सम्झौता गरे, लिम्पियाधुराको त्रिदेशीय विन्दुलाई एउटा व्यापार नाकाको रुपमा अघि बढाउने निर्णय गर्दा हामीसँग सोधेनन्, हामीले भग्नावशेष सोहोर्दै गर्दा हाम्रा दुई छिमेकी मित्रहरुले त्यसमा सम्झौता गरे, हामी विनम्रतापूर्वक भन्न चाहन्छौं– त्यो सहमतिप्रति हाम्रो स्वीकार्यता छैन । हामी त्यसलाई अस्वीकृत गर्छौं,’ नेम्बाङले भने, ‘त्यसका विरुद्धमा विनम्रतापूर्वक लड्छौं । सिंगो संसद र देशलाई एकजुट बनाएर त्यसविरुद्ध अघि बढ्छौं ।’

जनता समाजवादी पार्टीकी नेतृ सरिता गिरीले भारत र चीनलाई नसोधी नेपालको नयाँ नक्सा जारी गर्ने सरकारको तयारीप्रति आलोचना गरेपछि नेम्बाङले जवाफ दिएका हुन् ।

‘भूकम्पले क्षतविक्षत भएको बेलामा आफ्नै कोही मित्रले नाकाबन्दी लगाउनु विश्वास गर्न नसकिने विषय हो, कोही–कोही मित्रहरुले त नाकाबन्दीको नामै उच्चारण गर्न चाहनुभएन, हामीले त सीधै भन्यौं’, उनले भने, ‘अब कहिल्यै नाकाबन्दी लाग्दैन । हाम्रो देशमा नाकाबन्दी लगाउने स्थिति अन्त्य यो जनताको समर्थनबाट हामीले गरेका हौं । यो कामलाई सबैले बेलाबेलामा सम्झनुपर्छ ।’

पूर्वसभामुखसमेत रहेका नेम्वाङले देशमा शान्ति र प्रजातन्त्रको लागि फेरि आन्दोलन गर्नु नपर्ने बताएका छन् ।

‘यो ठाउँसम्म आईपुग्दा हामीले गर्वका साथ भनेका छौं यो देशमा शान्ति र प्रजातन्त्रको लागि फेरि आन्दोलन गर्नुपर्दैन् । यो नीति तथा कार्यक्रमले त्यो शान्तिप प्रक्रियालाई चाँडै टुँगोमा पुर्याउने कुरा गरेको छ । जनतालाई हामीले सकारात्मक सन्देश प्रवाह गर्नुपर्छ । हामीले यति राम्रो काम गरेका छौं भनेर भन्नुपर्छ । होईन भने जनतामा निराशा पैदा हुन्छ । त्यस्तो हुन दिनुहुँदैन् ’, उनले भने ।