काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता एवं राष्ट्रियसभा सदस्य नारायणकाजी श्रेष्ठले भारतीय सेना प्रमुख जनरल मनोज नरवानेको विवादास्पद अभिव्यक्तिको खण्डन गरेका छन् ।
आइतबार राष्ट्रियसभाको बैठकमा बोल्दै नेकपाका प्रवक्ता श्रेष्ठले हामीलाई अरू कसैको उक्साहट आवश्यक नरहने बताएका छन् ।
केही,समय अगाडि सेना प्रमुख नरवानेले नेपाली राजदूतले काली नदीको पूर्वी क्षेत्र नेपालकै भएको बताएको उल्लेख गरेका थिए । ‘त्यसमा कुनै विवाद छैन । हामीले बनाएको सडक नदीको पश्चिम तर्फ हो । त्यसोभए उनीहरू किन आन्दोलन गरिरहेका छन् मलाई थाहा छैन,’ उनले भनेका थिए ।
‘नेपाल र नेपाली जनता इतिहासमा जस्तै आज पनि हाम्रो सार्वभौमिकता, भौगोलिक अखण्डताको रक्षा गर्ने सामर्थ्य राख्छ । त्यहीअनुसार नेपाल सरकारले यस सन्दर्भमा ठोस पहल कदमी गर्न प्रक्रिया अगाडि बढाएको छ’, उनले भनेका छन्, ‘हामी सबै छिमेकी मित्रहरूसँग मित्रवत् सम्बन्ध राख्न चाहन्छौं र त्यो मित्रवत् सम्बन्धलाई अझ प्रगाढ बनाउन चाहन्छौं । त्यसबाहेक हामीसँग अर्को विकल्प छैन भन्ने कुरा हामीलाई राम्ररी थाहा छ । तर, नेपालको सार्वभौमिकता र भौगोलिक अखण्डताको पक्षमा र नेपालको राष्ट्रिय हितको पक्षमा उभिनु हाम्रो अधिकार र कर्तव्य दुवै हो भन्ने कुरा पनि विशेष अनुरोध गर्न चाहन्छु । साथै, त्यसलाई कुनै पनि ढङ्गले अन्यथा नलिन अनुरोध गर्न चाहन्छु ।’




प्रतिक्रिया