काठमाडौँ – कोरोना भाइरस रोग (कोभिड–१९) सङ्क्रमणका कारण गरिएको बन्दाबन्दीले देशभरका विद्यार्थी विद्यालय जान पाएका छैनन् । कोरोना प्रभाव लम्बिँदै जाने हो भने वैकल्पिक अध्ययन अध्यापन पद्धति अवलम्बन गर्नुु जरुरी भए पनि त्यसप्रति सरोकार निकाय मौन छन् भने तत्कालीन र दीर्घकालीन रणनीतिमा बहससमेत हुन सकेको छैन ।
यो जटिल अवस्थामा शिक्षा क्षेत्र ‘पर्ख र हेर’कै अवस्थामा रहेकोप्रति अभिभावकले गुुनासो गर्न थालेका छन् । अभिभावकको भनाइ छ, “बालबालिकाको अध्ययन गर्ने बानी नै छुुट्न लागिसक्यो, सम्बद्ध निकाय भने पर्ख र हेरकै अवस्थामा छ ।”
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव एवं प्रवक्ता दीपक शर्माले कोरोना प्रभावको यो जटिल अवस्थामा अहिले तत्काल नयाँ नीतिगत निर्णय लिने अवस्थामा मन्त्रालय नरहेको बताउनुभयो । सङ्क्रमण धेरै लम्बिएको अवस्थामा विभिन्न विकल्पमा जाने हिसाबले आफूहरूले आन्तरिक तयारी गरिरहेको जानकारी उहाँले दिनुभयो ।
बन्दाबन्दी कायमै रहेको अवस्थामा सिकाइलाई निरन्तरता के कसरी दिने ? खुलेपछि विद्यालय कसरी अगाडि बढ्ने तथा यसको दीर्घकालीन प्रभावका बारेमा योजना नबन्नु दुःखलाग्दो भएको अभिभावक कविता काफ्ले बताउनुहुुन्छ । “कोरोना प्रभाव बढ्दै जाँदा के गर्ने भन्नेबारेमा सम्बद्ध निकाय र विज्ञहरू मौन रहनु उचित होइन’’, उहाँले यो विषयमा मिडियाले ध्यान दिन नसकेको भन्दै असन्तोष व्यक्त गर्नुभयो ।
बन्दाबन्दी भएको दुई महिनाको अवधिमा माध्यमिक तहको स्थगित परीक्षा सञ्चालन, सिकाइको निरन्तरता, विद्यार्थी भर्ना, पाठ्यपुस्तकको उपलब्धतालगायत विषयमा कुनै ठोस नीतिगत निर्णय हुन सकेको छैन । सङ्क्रमणको क्रम बढ्दै गएको तथा बन्दाबन्दीसमेत कायमै रहेको अवस्थामा शिक्षा क्षेत्र पर्ख र हेरको अवस्थामा रहेको शिक्षाका उच्च तहका अधिकारीहरूले बताउनुभएको छ ।यो समाचार आजको गोरखापत्र दैनिकमा छ




प्रतिक्रिया