बुढीगण्डकी बाढी प्रभावित क्षेत्रमा कसरी हुँदैछ उद्धार ? प्रधानमन्त्री शाहले दिए जानकारी

बुढीगण्डकी बाढी प्रभावित क्षेत्रमा कसरी हुँदैछ उद्धार ? प्रधानमन्त्री शाहले दिए जानकारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – गोरखाको चुमनुव्री गाउँपालिका–६ लोक्पा र चुम्लिङबिच गएको पहिरोका कारण बुढीगण्डकी नदीमा लेदो सहितको बाढी आउँदा तल्लो तटीय क्षेत्रमा ठूलो क्षति पुगेको छ ।

बाढीमा परी ५ जना बेपत्ता भएका छन् भने प्रभावित क्षेत्रमा खोजी तथा उद्धार कार्य तीव्र पारिएको छ । प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ले सामाजिक सञ्जाल फेसबूकमार्फत बाढी प्रभावित क्षेत्रमा उद्धार, राहत तथा पुन:स्थापनाका काम भइरहेको जानकारी दिएका छन् ।

प्रधानमन्त्री शाहका अनुसार बाढीले झोलुङ्गे तथा पक्की पुल, टेलिफोन टावर, विद्युत्का पोल, निर्माणाधीन बुढीगण्डकी जलविद्युत् आयोजनाको शिविर क्षेत्र, निर्माण उपकरण र आसपासका घरहरू बगाएको छ । बाढीको सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय आरुघाटबाट प्रहरी टोली परिचालन गरी नदी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सारिएको उनले बताए ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बिहान ६ बजे गोरखा, धादिङ, तनहुँ, चितवन तथा नवलपरासी पूर्व र नवलपरासी पश्चिमका २२१ जना प्रतिकार्यकर्तालाई तत्काल परिचालित हुन एसएमएस पठाएको थियो । जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्र र बाढी पूर्वानुमान महाशाखाको समन्वयमा गोरखादेखि धादिङ हुँदै चितवनको बेनिघाटसम्मका सर्वसाधारणलाई २ पटक गरी करिब २ लाख एसएमएसमार्फत पूर्वसूचना सम्प्रेषण गरिएको प्रधानमन्त्री शाहले उल्लेख गरेका छन् ।

प्रभावित क्षेत्रबाट निर्माणाधीन बुढीगण्डकी जलविद्युत् आयोजनाका १२ कर्मचारीसहित ४८ जनालाई उद्धार गरी सुरक्षित स्थानमा राखिएको छ । प्रभावित क्षेत्रमा अहिले पनि खोजी तथा उद्धार कार्य जारी रहेको जनाइएको छ ।

उद्धार तथा प्रतिकार्यका लागि नेपाली सेनाका ३ विशेष फौजसहित १२७ जना, नेपाल प्रहरीका १३३ जना र सशस्त्र प्रहरी बल, नेपालका १७७ जना गरी ४३७ सुरक्षाकर्मी परिचालन गरिएको छ । नेपाली सेनाका ४ वटा हेलिकोप्टरसमेत प्रभावित क्षेत्रमा परिचालन गरिएका छन् । नेपाल प्रहरीको विपद् प्रतिकार्य तथा तालिम केन्द्रमा थप ५० जनाको टोलीलाई आवश्यकताअनुसार परिचालन गर्न तयारी अवस्थामा राखिएको छ ।

बाढी आउनुको कारण पत्ता लगाउन ड्रोन र भूगर्भविद्सहित ३ जनाको टोली प्रभावित क्षेत्रमा पठाइएको छ । सडक सञ्चालनको अवस्था अध्ययन गर्न तथा बेलिब्रिज जडानको सम्भाव्यता बुझ्न सडक विभाग र स्थानीय पूर्वाधार विकास विभागका महानिर्देशक सहितको टोली परिचालन गरिएको छ ।

प्राधिकरणको विपद् प्रतिकार्य कमान्ड पोस्टको बैठक निरन्तर सञ्चालन भइरहेको प्रधानमन्त्री शाहले बताए । बैठकमार्फत बाढीको अवस्था निरन्तर अनुगमन तथा विश्लेषण गर्ने, आवश्यक सूचना सम्प्रेषण गर्ने र प्रतिकार्यका लागि सम्बन्धित निकायसँग समन्वय तथा सहजीकरण गर्ने काम भइरहेको छ । बाढीसम्बन्धी जानकारी प्राधिकरणलगायत सरोकारवाला निकायका सामाजिक सञ्जाल र सञ्चारमाध्यममार्फत निरन्तर प्रवाह भइरहेको पनि उनले उल्लेख गरे ।

प्रभावित क्षेत्रमा स्थल तथा हवाई मार्गबाट अत्यावश्यक राहत सामग्री ढुवानी भइरहेको छ । गोरखा, लमजुङ र तनहुँका जिल्लास्तरीय द्रुत प्रतिकार्य टोलीलाई तयारी अवस्थामा राखिएको छ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको नेतृत्वमा प्रदेश र स्थानीय तहका आपतकालीन चिकित्सक तथा स्वास्थ्यकर्मीको टोलीसमेत तयारी अवस्थामा राखिएको प्रधानमन्त्री शाहले बताए । प्रभावित क्षेत्रमा अलपत्र परेका पर्यटकको उद्धारका लागि सम्बन्धित मन्त्रालय र कम्पनीहरूलाई निर्देशन दिइएको छ ।

सरकारले बाढी प्रभावित क्षेत्रको जनजीवन सामान्य बनाउन र क्षतिग्रस्त भौतिक पूर्वाधार पुन: सञ्चालन गर्न आवश्यक कदम अघि बढाएको प्रधानमन्त्री शाहको भनाइ छ । आरुघाटमा बेलिब्रिज जडानका लागि तयारीसमेत सुरु गरिएको उनले जानकारी दिए ।

प्रधानमन्त्री शाहले बुढीगण्डकी नदीको तटीय क्षेत्रमा बसोबास गर्ने बासिन्दालाई सुरक्षित स्थानमा रहन, जोखिमयुक्त पुल तथा सडकबाट आवतजावत नगर्न र स्थानीय प्रशासन तथा सुरक्षा निकायका निर्देशन पालना गर्न आग्रह गरेका छन् ।