नेपालको आधिकारिक क्षेत्रफल कति?

नेपालको आधिकारिक क्षेत्रफल कति?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – सरकारले लिम्पियाधुरासहितको नेपालको नयाँ नक्सा जारी गरे पनि क्षेत्रफल सार्वजनिक गरेको छैन। नेपालको आधिकारिक क्षेत्र कति भयो भन्ने जिज्ञासा छ। सरकारले आधिकारिक रूपमा घोषणा नगरे पनि क्षेत्रफलबारे विभिन्न प्रचार भइरहेको छ।

सरकारले जारी गरेका नक्साका आधारमा प्राविधिकले एक लाख ४७ हजार नौ सय ५० वर्गकिमि हुने बताइरहेका छन्। प्रधानमन्त्री केपी ओलीका प्रेस सल्लाहकारको आधिकारिक फेसबुकमा नेपालको नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा र क्षेत्रफल एक लाख ४७ हजार ५१६ वर्गकिमि उल्लेख छ।

गुगलको वेबसाइटमा ‘जीओग्राफी अफ नेपाल’ मा १ लाख ४७ हजार ५१६ वर्गकिमि क्षेत्रफल उल्लेख गरिएको छ। यसका आधारमा पहिलाको भन्दा तीन सय ३५ वर्गकिमि क्षेत्र बढेको देखिन्छ। नयाँ नक्सा नबन्दासम्म नेपालको क्षेत्र एक लाख ४७ हजार एक सय ८१ थियो।

नापी विभागका पूर्वउपमहानिर्देशक एवं सीमा प्राविधिक सुरेशमान श्रेष्ठका अनुसार नापीले पहिलो प्रकाशन गरेको १: १०,००,००० मान नापको डिजिटल डाटा र हाल अद्यावधिक गरिएको क्षेत्रसमेत समावेश गरी क्षेत्रफल गणना गर्दा नेपालको क्षेत्रफल करिब एक लाख ४७ हजार नौ सय ५० वर्गकिमि देखिन्छ। जुन हालको क्षेत्रफलभन्दा ७ सात सय ६९ वर्गकिमि बढी हुन्छ। सीमा बचाऊ अभियानले सरकारले जारी गरेको नयाँ नक्साअनुसार नेपालको क्षेत्रफल एक लाख ४७ हजार नौ सय ५० वर्गकिमि हुने बताएको छ।

अभियानका नक्सा समिति सदस्य कमल बरालले सेटलाइट इमेजमार्फत एक लाख ४७ हजार नौ सय ५० वर्गकिमि देखिएको बताए। ‘फिल्ड सर्भेबाट वास्तविक तथ्यांक आउँछ,’ उनले भने, ‘गुगल इमेजबाट नाप्दा यति आयो, फिल्ड सर्भेमा अलि अलि तल–माथि होला। ’ उनका अनुसार यो क्षेत्रफलमा सुस्तालगायत सबै भारतद्वारा मिचिएको भूभाग समेटिएको छ।

बरालका अनुसार नयाँ नक्सासँगै नेपाल–भारत र नेपाल–चीनको लम्बाइ पनि बदलिएको छ। अब नेपाल–भारतको लम्बाई करिब १९३० किमि हुनेछ, अहिले नेपाल–भारतको लम्बाइ १८८० किमि छ। नेपाल–चीनको लम्बाइ करिब १४८४ किमि हुनेछ यसअघि नेपाल र चीनको १४१४ किमि भूभाग जोडिएको छ। नापी विभागका पूर्वमहानिर्देशक पुण्यप्रसाद ओली पनि अहिले नयाँ नक्साअनुसार ७/८ सय वर्गकिमिभन्दा क्षेत्रफल बढ्न सक्ने बताउँछन्।यो समाचार आजको अन्नपूर्णपोष्ट दैनिकमा छ