काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता गगनकुमार थापाले अद्यावधिक नक्सामा समेटिएका लिम्पियाधुरा, लिपुलेक र कालापानी पूर्ण नियन्त्रणमा ल्याउने संकल्पसहित साझा संकल्प प्रस्ताव सर्वसम्मत पारित गर्नुपर्ने बताएका छन् ।
उनले भनेका छन्, ‘राष्ट्रिय प्रतिवद्धताको विषय भएकोले द्रुतगतिमा सर्वसम्मत रुपमा यस प्रस्तावलाई पारित गरौं । परिवर्तित नक्सामा उल्लेख गरिएको लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितको हाम्रो भू–भाग नेपालको पूर्ण नियन्त्रणमा ल्याउने संकल्प सहितको साझा संकल्प प्रस्तावु मस्यौदा गरौं र सर्वसम्मत रुपमा संसदबाट संकल्प पारित गरौं ।’
त्यस्तै सांसद थापाले नेपालको परिवर्तित नक्सा संविधानको अंग भएसंगै राष्ट्रिय स्वाभिमानको लडाईंमा एउटा महत्वपूर्ण अध्यायको सुरुवात भएको बताएका छन् ।
‘अबको बाटो भनेको हामीले हाम्रो भू–भागबाट भारतको उपस्थिति तथा नियन्त्रणको अन्त्य गरी आफ्नो प्रभावकारी नियन्त्रण स्थापित गर्ने हो’, उनले भनेका छन्, ‘नेपालको आन्तरिक विषय तथा मामिलाहरुमा हाम्रा विचमा विभिन्न मतभेदहरु थिए, छन र भोली पनि हुनेछन् । राष्ट्रिय स्वाभिमान, स्वाधिनता, र स्वनिर्णयको विषयमा हामीबीच मतभेद हुनु हुँदैन भनेर हामी सबैले लामो समय चर्चा गर्दै रह्यौं ।’
सांसद थापाले नेपालको राजनीतिक ईतिहासमा पहिलो पटक आपसी मतभेदहरुलाई पाखा लगाएर राष्ट्रिय स्वाभिमानको खातिर परिवर्तित नक्सा जारी गर्ने सन्दर्भमा एक ढिक्का भएर एक ठाउँ उभिएको स्मरण गरेका छन् ।
सांसद थापाले नक्सा प्रकाशन गर्दा देखिएको एकता, यस उप्रान्त हुन पर्ने वा गर्नु पर्ने कुटनीतिक पहल कदमीमा समेत हामी सबै राष्ट्रिय रुपमा एकबद्ध भएको सन्देश भारत लगायत सिंगो विश्व समुदायलाई दिने स्पष्ट पारेका छन् ।
‘अतः नेपालको स्वनिर्णय र त्यस्त निर्णय कार्यन्वयन गर्ने सार्वभौम शक्तिउपर कोही–कसैलाई स्पष्टिकरण दिईरहनु आवश्यक छैन’, उनले भनेका छन्, ‘हाम्रो स्वाधिनता र सार्वभौमिकताको रक्षार्थ नेपालले गरेको स्वनिर्णयमाथि तुच्छ तथा असोभनीय किसिमले प्रश्न उठाउने, भ्रम सिर्जना गर्ने र नेपालले केही गर्न सक्दैन भन्नेहरुलाई संसदको राष्ट्रिय संकल्पले एउटा चोटिलो जवाफ दिनेछ– ‘नेपाल आफ्नो सीमाना र सार्वभौमकताको रक्षा गर्न दृढरुपमा संकल्पित छ ।’





प्रतिक्रिया