नेपालगन्ज – देशकै सबैभन्दा कोरोना जोखिमपूर्ण क्षेत्र बाँकेको नरैनापुरमा खटिएका सुरक्षाकर्मी कपडाकै भरमा छन्। सुरक्षाका पर्याप्त साधन नपाउँदा प्रहरीमै संक्रमण देखिएको छ। एक जना प्रहरी जवानलाई कोरोना संक्रमण पुष्टि भएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक वीरबहादुर ओलीकाअनुसार नरैनापुर गाउँपालिकाको कालाफाँटा प्रहरी चौकीमा कार्यरत एक जना प्रहरी जवानलाई कोरोना संक्रमण पुष्टि भएको हो।
उनीसँगै कोरोना परीक्षण गरेका २३ जना प्रहरीमध्ये धेरै जनाको रिपोेर्ट अझै आउन बाँकी रहेको प्रमुख ओलीले बताए। नरैनापुर गाउँपालिकामा शनिबारसम्म एक सय १४ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ भने एक जना २५ वर्षका युवाको कोरोनाबाट मृत्यु भइसकेको छ। केही दिनदेखि नरैनापुरमा संक्रमितलाई नेपालगन्जको आइसोलेसनमा ल्याउन लाग्दा स्थानीयले अवरोध गरेका छन्। कोरोना संक्रमितहरू पनि आइसोलेसनमा आउन नमानेर भाग्न खोजिरहेका छन्।
उनीहरूको भीड नियन्त्रण गर्न प्रहरी खटेका छन्। यसरी खटेका नेपाल प्रहरीसँग राम्रो मास्क नै छैन। डब्लुएचओकाअनुसार कोरोेनाबाट जोगिन एनके ९५ माक्स लगाउनुपर्छ तर कोरोनाको अति जोखिमपूर्ण क्षेत्र नरैनापुरमा कार्यरत कुनै पनि प्रहरीसँग त्यस्तो मास्क छैन। न त उनीहरूसँग स्यानिटाइजर नै छ। प्रहरी प्रमुख ओली नै प्रहरीहरूले कपडाको माक्स मात्र लगाइरहेको स्वीकार्छन्।यो समाचार आजको अन्नपूर्णपोष्ट दैनिकमा छ ।



प्रतिक्रिया