काठमाण्डु – नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा कास्की क्षेत्र नम्बर २ का ८१ वर्षीय महाधिवेशन प्रतिनिधि शोभाचन्द्र बरालले पार्टीमा पुस्तान्तरण र नयाँ नेतृत्वको आवश्यकतामा जोड दिएका छन् ।
२००३ सालमा जन्मिएका बराल नेपाली कांग्रेसका ज्येष्ठ महाधिवेशन प्रतिनिधिमध्ये एक हुन् । ८ दशक लामो जीवनयात्रामा परिवार, व्यवसाय, समाजसेवा र राजनीतिलाई सँगसँगै अघि बढाएका उनी अहिले पनि राजनीतिक सोच र कार्यशैली समयअनुसार परिवर्तन हुनुपर्ने धारणा राख्छन् ।
बरालका अनुसार समयसँगै जनताका अपेक्षा बदलिएका छन् । त्यसैले अनुभवको सम्मान गर्दै नयाँ पुस्तालाई नेतृत्वमा अवसर दिनुपर्ने आवश्यकता छ । पुरानै शैलीबाट राजनीति अघि बढाउन नसकिने उनको भनाइ छ ।
बाल्यकालदेखि नै जिम्मेवारी
बरालको विवाह १२ वर्षको उमेरमै भएको थियो । सानै उमेरदेखि पारिवारिक जिम्मेवारी सम्हालेका उनी ४ छोरा र २ छोरीका पिता हुन् । उनका नातिनातिना हुँदै २ जना पनातिसमेत छन् ।
पोखरा महानगरपालिका–७ मासबार निवासी बरालको पारिवारिक पृष्ठभूमि बाजेको पालादेखि नै राजनीतिक परिवेशसँग जोडिएको थियो ।
एसईईसम्म औपचारिक शिक्षा हासिल गरेका उनले व्यापार–व्यवसायलाई जीविकोपार्जनको आधार बनाउँदै राजनीतिमा पनि निरन्तर सक्रियता देखाए ।
वडादेखि क्षेत्रीय सभापतिसम्मको यात्रा
बरालले नेपाली कांग्रेसको वडा सभापतिबाट राजनीतिक यात्रा अघि बढाउँदै क्षेत्रीय सभापतिको जिम्मेवारीसमेत सम्हाले । उनी पटक–पटक महाधिवेशन प्रतिनिधि बनेका छन् ।
प्रजातान्त्रिक सेनानीको केन्द्रीय सदस्यका रूपमा समेत आबद्ध रहेका उनले पार्टी संगठनका विभिन्न चरणलाई नजिकबाट अनुभव गरेका छन् । लामो राजनीतिक अनुभवका आधारमा उनी नेतृत्वलाई पद र प्रतिष्ठामा मात्र सीमित गर्न नहुने बताउँछन् । राजनीतिमा निरन्तरता, संगठनप्रतिको प्रतिबद्धता र सामाजिक उत्तरदायित्व महत्त्वपूर्ण हुने उनको बुझाइ छ ।
‘बीपीको विचारलाई समयअनुसार परिमार्जन गर्नुपर्छ’
बरालले नेपाली कांग्रेसका संस्थापक नेता बीपी कोइरालाको विचार र आदर्शलाई समयसापेक्ष रूपमा अघि बढाउनुपर्ने धारणा राखेका छन् । उनका अनुसार विगतका विचार र अनुभव महत्त्वपूर्ण भए पनि बदलिँदो समाज र जनताको अपेक्षालाई सम्बोधन गर्न राजनीतिक सोच तथा कार्यशैलीमा परिमार्जन आवश्यक छ ।
निर्भीक, जोसिलो, ऊर्जाशील र देशका चुनौती बुझेर काम गर्न सक्ने नेतृत्व अहिलेको आवश्यकता रहेको उनको जोड छ । नयाँ पुस्ताको ऊर्जा र पुरानो पुस्ताको अनुभवलाई समन्वय गरेर अघि बढ्नुपर्ने उनी बताउँछन् ।
उमेर होइन, सोच र कार्यक्षमता महत्त्वपूर्ण
८१ वर्षको उमेरमा पनि राजनीतिमा परिवर्तनको पक्षमा उभिएका बरालको विचारले नेतृत्वमा पुस्तान्तरणको बहसलाई थप महत्त्व दिएको छ । उनका लागि परिवर्तन भनेको विगतलाई बिर्सनु होइन, विगतका अनुभवबाट सिकेर भविष्य निर्माण गर्नु हो ।
बरालको जीवनयात्राले पारिवारिक जिम्मेवारी, व्यवसाय र राजनीतिप्रतिको निरन्तर प्रतिबद्धतालाई जोडेको छ । उनी नयाँ पुस्तालाई अवसर दिनुपर्ने र नेतृत्वले समयको मागअनुसार आफूलाई परिमार्जन गर्नुपर्ने पक्षमा छन् । उनको सन्देश स्पष्ट छ, ‘अनुभवलाई सम्मान गर्नुपर्छ, युवालाई नेतृत्वमा अघि बढाउनुपर्छ र बदलिँदो समयअनुसार राजनीतिक सोच तथा कार्यशैलीमा परिवर्तन ल्याउनुपर्छ ।’



प्रतिक्रिया