काठमाडौं – प्रिमनसुनको प्रभावले आगामी तीन दिन काठमाडौं उपत्यकासहित देशको अधिकांश भूभागमा वर्षाको सम्भावना रहेको छ ।
प्रिमनसुन सक्रिय भएकाले देशभर मेघगर्जन, हावाहुरी चट्याङसहित वर्षाको सम्भावना रहेको मौसमविद् राजु प्रधानाङ्गले बताए । उनले भने, ‘प्रिमसुनको प्रवृत्ति दिनमा घाम लाग्ने र अपराह्न तथा साँझापख मेघगर्जनसहित क्षणिक वर्षा हुने गर्छ ।’
अङ्ग्रेजी महिना मार्च, अप्रिल र मेसम्म तीन महिना प्रिमनसुन चल्ने भएकाले देशका पहाडी भूभागको मौसम अपराह्न तथा साँझापख लगातर प्रभावित भइरहने हुन्छ । आगामी तीन दिन अपराह्न तथा साँझपख मौसम बदली भई वर्षा हुने बताइएको छ ।
आकाशको बादल र वर्षालाई हेर्दा मनसुन सक्रिय भएको जस्तो लागे पनि यो मनसुन नभई प्रिमनसुनी गतिविधि रहेको मौसमविद्को भनाइ छ ।
सामान्यतया नेपालमा जुन १० देखि मनसुन शुरु हुने गर्छ । मनसुन भित्रन्न अझै १३ दिन बाँकी रहेको छ ।
हाल देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ ।




प्रतिक्रिया