काठमाडौं – गोकर्णेश्वर नगरपालिकाका दुई कोरोना सङ्क्रमितका पछिल्लो दुईपटक गरिएको पीसीआर परीक्षण नेगेटिभ आएपछि डिस्चार्ज गरिएको छ ।
नगरपालिकाको वडा ४, किसिगालका ५७ वर्षीय पुरुष र वडा ७, शिवचोकका ३५ वर्षीय पुरुषमा रिपोर्ट पोजेटिभ देखिएपछि पाटन अस्पतालको आइसोलेसन कक्षमा राखी उपचार गरिएको थियो ।
पछिल्लो दुईपटकको सो परीक्षणका क्रममा नेगेटिभ आएपछि दुवैलाई घर पठाइएकामा हाल दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरहरि घिमिरेले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
किसिगालका ५७ वर्षीय पुरुष भन्सार कार्यालय भैरहवामा हल्का सवारी चालक पदमा कार्यरत रहेको र शिवचोकका ३५ वर्षीय पुरुष ग्रान्डी अस्पतालमा कार्यरत रहेको नगरपालिकाले जनाएको छ । दुवै सङ्क्रमितमा नेगेटिभ प्रतिवेदन प्राप्त भएको खबरपछि नगरपालिकाको जनजीवन सामान्य बनेको छ ।
विषम् परिस्थितिमा घरमै बस्न, पटक(पटक साबुन पानीले हात धुन र अत्यावश्यक कामका लागि बाहिर निस्कनै परे अनिवार्य रुपमा मास्कको प्रयोग गर्न नगरपालिकाले आह्वान गरेको छ । दुवैजनाका सम्पर्कमा आएका मानिसमा गरिएको परीक्षणमा कोभिड–१९ नभेटिएको पनि उनले बताए ।




प्रतिक्रिया