काठमाडौं – अमेरिकी सहयोग कार्यक्रम मिलेनियम कर्पोरेसन च्यालेन्ज (एमसीसी) को विषयलाई लिएर सत्तारुढ दलभित्र फेरी विवाद देखिएको छ । बजेटमा एमसीसी कार्यक्रम राखेको भन्दै नेताहरुबीच विवाद सुरु भएको हो । प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालवीच शुक्रवार यसबारेमा छलफल भएको छ । दुवै नेतावीच भेटमा बजेटको समिक्षा, एमसीसी र संविधान संशोधनको ऐजेण्डाको विषयमा छलफल भएको थियो ।
भेटमा अध्यक्ष प्रचण्डले पार्टीमा निर्णय नगरी एमसीसी बजेटमा राखिएको भन्दै असन्तुष्टि जनाएको स्रोतको दावी छ । सरकारले बिहिवार संसदमा पेश गरेको बजेटमा अन्तरदेशीय प्रशारण लाइन निर्माणका लागी ३६ अर्ब २ करोड बजेट विनियोजना गरेको थियो । चोर वाटोबाट बजेटमा एमसीसी घुसाउन खोजेको भन्दै नेताहरु झलनाथ खनाल र भिम रावलले प्रधानमन्त्रीको आलोचना गरेका थिए ।
प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डको भेटपछि शनिवार सचिवालय वैठक बोलाउने निर्णय भएको छ । वैठकमा देशको पछिल्लो राजनीतिक अवस्थाको समिक्षा गर्नुका साथै एमसीसी र संविधान संशोधनको वारेमा समेत छलफल हुनेछ । नेकपाका प्रवक्ता समेत रहेका सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले शनिवार साढे नौ बजे सचिवालय वैठक वस्न लागेको जानकारी दिए ।
पार्टीभित्र एमसीसी परियोजना संसदबाट पारित गर्न नहुने आवाज उठिरहेका वेला प्रधानमन्त्री ओलीले भने त्यसलाई अघि बढाउने तयारी गरेको निकट स्रोतको दावी छ । उनले पार्टीभित्रका विरोधीहरुलाई तह लगाउन वजेटमा उक्त कार्यक्रम समावेश गरेको बताइएको छ । नीति तथा कार्यक्रममा उठेका प्रश्नहरुको जवाफ दिने क्रममा समेत प्रधानमन्त्री ओलीले एमसीसी चांडै संसदबाट अनुमोदन हुने बताएका थिए।




प्रतिक्रिया