काठमाण्डु– प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणको कार्यतालिका मंगलबार सार्वजनिक हुने भएको छ। सोमबार बेलुका नै भ्रमण तालिका सार्वजनिक गर्ने भनिएता पनि सरकारी बिदा परेकाले मंगलबार मात्रै सार्वजनिक गर्न लागिएको परराष्ट्र मन्त्रालयले जनाएको हो ।
परराष्ट्र मन्त्रालयका एक उच्च अधिकारीका अनुसार प्रधानमन्त्री शाह आगामी मङ्सिर ६ गते भारत गएर ७ गते नै स्वदेश फर्किने गरी कार्यक्रम तय गर्ने तयारी भइरहेको छ। भारतले तीनदिने भ्रमणको निम्तो दिए पनि प्रधानमन्त्रीले दुई दिनका लागि मात्रै समय निर्धारण गर्न चाहेको ती अधिकारीले बताए।
‘मंगलबार प्रधानमन्त्रीको भारत भ्रमणबारे तालिका सार्वजनिक हुन्छ। ६ गते गएर ७ गते नै फर्किने गरेको कार्यक्रम बन्दैछ। तीन दिने भारत भ्रमणको निम्तो उताबाट आएको हो तर प्रधानमन्त्रीज्यू दुई दिनका लागि मात्रै समय निर्धारण गर्न तयार हुनुभयो।’ परराष्ट्र मन्त्रालयका एक उच्च अधिकारीले काठमाण्डुपाटीलाई भने । उनले थपे ‘६ गतेदेखि ९ गतेसम्म भन्ने थियो तर अहिले दुई दिनको मात्रै भन्ने कुरा आएको छ फाइनल निर्णय चाहिँ मंगलबार मात्रै हुन्छ। भ्रमण टोलीको विषयमा पनि मंगलबार या बुधबार आधिकारिक जानकारी आउँछ।’
उनका अनुसार भ्रमण टोलीमा को–को सहभागी हुने भन्ने विषयमा पनि बुधबारसम्म आधिकारिक जानकारी सार्वजनिक गरिनेछ। परराष्ट्र मन्त्रालयले मंगलबारदेखि भ्रमणका एजेन्डासमेत अन्तिम रूप दिने तयारी गरेको छ।
ऊर्जामन्त्री विराजभक्त श्रेष्ठले पनि मन्त्रालयगत एजेन्डा तयार गर्ने काम भइरहेको जानकारी दिएका छन्। उनका अनुसार मंगलबारदेखि परराष्ट्र मन्त्रालयका पदाधिकारीसहित छलफल गरेर भ्रमणका एजेन्डा टुङ्गो लगाइनेछ।
‘अहिले प्रारम्भिक चरणको छलफल भइरहेको छ। मंगलबार बाट एजेन्डा अन्तिम रूप दिने काम सुरु हुन्छ। भ्रमणको कार्यतालिका पनि मंगलबार सार्वजनिक हुने जानकारी पाएका छौँ,’ मन्त्री श्रेष्ठले बताए।


प्रतिक्रिया