काठमाडौं – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सबैले थर परिवर्तन गर्नुपर्ने माग गरेका छन् ।
आइतबार प्रतिनिधि सभाको बजेटमाथिको छलफलका क्रममा डा. भट्टराईले दलित शब्द प्रयोग नगर्नुभन्दा पनि सबैले दलित थर राखिदिन आग्रह गरेका छन् ।
‘अनि जो श्रम गर्ने हो सीप भएको हो । त्यसलाई दलित भनेर हेपेपछि विकास हुन्छ’, भट्टराईले भने, ‘दलित शब्द प्रयोग नगरौं अरू शब्द प्रयोग गरौं भन्नुहुन्थ्यो साथीहरूले । मेरो त एउटा प्रस्ताव छ – तपाईं हामी सबैले दलित नाम राखिदिउँ न । बाबुराम भट्टराई कामी भन्न किन नहुने ?’
उनले पढेलेखेका बाहुनले श्रम गर्नु हुँदैन भन्ने मानसिकताबाट माथि ण्ठ्नुपर्ने बताएका छन् ।
‘मान्छे श्रम गर्न हुन्न भनेर बस्ने, उपदेश दिएर बस्ने । क्षेत्रीहरू कुनैबेला लडाइँ लड्थे होलान्, राजनीतिक स्तरमा त्यो अहिले काम छैन, उनीहरू पनि लडाइँ–बडाइँ भनेर अर्काले गरेको खाएर बस्ने भयो’, उनले भने ।
उनले सबैमा समानता ल्याउन सबैले कामी थर लेख्नुपर्ने बताएका छन् ।
‘विश्वकर्मा लेखौं, कामी लेखौं हामी सबैले थर बदलौं । त्यसो भए बराबरी भइन्छ की । नत्र भर्खरै मात्र रूकुममा जे भयो त्यस्तो परिकल्पना गर्न पनि सकिन्न । क्रान्तिको इलाकामा प्रतिक्रान्ति भयो भने देश कहाँ जान्छ ?’, उनले भने ।
त्यस्तै उनले सम्पत्ति स्वयं घोषणा गर्न माग गरेका छन् । ‘कालोसेतो नभनौं एकचोटीलाई । सबैले सम्पत्ति अभिलेखीकरण गरौं । त्यो गर्यो भने राजस्व बढ्छ,’ उनले भने ।




प्रतिक्रिया