संविधान संशोधन प्रस्ताव संसद सचिवालयमा दर्ता

संविधान संशोधन प्रस्ताव संसद सचिवालयमा दर्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय जनता पार्टी (राजपा) र समाजवादी पार्टीले नेपालको संविधान संशोधन प्रस्ताव संघीय संसद सचिवालयमा दर्ता गराएका छन् ।

सांसद लक्ष्मण लाल कर्ण र समाजवादी दलका सांसद राजेन्द्रप्रसाद श्रेष्ठले संयुक्त रुपमा सोमबार संघीय संसद सचिवालयमा नेपालको संविधान (दोश्रो संशोधन) विधेयक, २०७७ दर्ता गराएका हुन् ।

सोमबार संशोधन विधेयक दर्ता गर्न राजपाका अध्यक्ष मण्डलका सदस्य महिन्द्रराय यादवलगायत नेताहरू संसद सचिवालय सिंहदरबार पुगेका थिए ।

सभामुखको अनुपस्थितिमा सभामुखले गर्ने सबै काम उपसभामुखले गर्नुपर्ने, प्रधानमन्त्री, मन्त्रिपरिषद्लगायतसँग जोडिएका आर्थिक अपचलनका मुद्दा हेर्न शक्तिशाली लोकपाल गठन गर्नुपर्ने, सर्वोच्च अदालतको संवैधानिक इजलासले प्रभावकारी काम नगरेको भन्दै संविधान संशोधन गरेर संवैधानिक अदालत गठन गर्नुपर्ने र राजदूत लगायत संवैधानिक नियुक्त समावेशी र समानुपातिक हुनुपर्ने माग छ ।

संविधानको धारा ६ मा ‘नेपाल सरकारले भाषा आयोगको सिफारिसमा सबै मातृभाषाहरुलाई संविधानको अनुसूचीमा समावेश गर्नेछ’ भन्‍ने वाक्यांश थप गर्नुपर्ने ठाकुरको संशोधन प्रस्तावमा उल्लेख छ । त्यस्तै, संविधानको धारा २८७ मा संघीय आयोग गठनको व्यवस्था थप गर्न माग गरिएको छ । प्रदेशको संख्या तथा सीमाङ्‍कन हेरफेरसम्बन्धी विषयमा सिफारिस गर्न नेपाल सरकारले एक संघीय आयोग गठन गर्न सक्नेछ र त्यसको कार्यादेश तथा कार्यविधि आयोग गठन गर्दा सरकारले निर्धारण गरेबमोजिम हुने व्यवस्था गर्नुपर्ने संशोधन प्रस्तावमा उल्लेख छ ।

शुक्रबार गैरसरकारी विधेयकका रूपमा संविधान संशोधन विधेयक दर्ता गर्न संसद सचिवालयले अस्वीकार गरेको थियो । राजपाका नेताहरू महन्थ ठाकुर, राजेन्द्र महतो, महेन्द्र राय यादव, अनिल झालगायत नेताहरू संविधान संशोधन विधेयक दर्ता गर्न संसद सचिवालय पुगेका थिए ।