लकडाउनबारे सरकारको निर्णय अवज्ञा नगर्ने काठमाडौं उपत्यकाका सिडिओहरुको निर्णय

लकडाउनबारे सरकारको निर्णय अवज्ञा नगर्ने काठमाडौं उपत्यकाका सिडिओहरुको निर्णय

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ)ले लकडाउनमा कडाइ गर्ने बताएका छन् ।

बिहीबार बसेको तीन वटा जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले सरकारले दिएको निर्देशन पालना गराउनु आफूहरुको दायित्व भएको बताउँदै माथिको आदेश नआएसम्म लकडाउन खोल्न नसकिने प्रष्ट पारेका छन् ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनक दाहाल, ललितपुरका नारायणप्रसाद भट्ट र भक्तपुरकी हुमकला पाण्डेले सरकारको निर्देशन अवज्ञा नगर्ने बताएका छन् ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी दाहालले लकडाउनबारे निर्णय गर्ने अधिकारी आफ्नो कार्य क्षेत्रभित्र नपर्ने भएकाले कोरोना रोकथाम तथा उच्चस्तरिय समितिलाई सुझाव दिने बताए ।

भक्तपुरकी सिडिओ हुमकला पाण्डेले लकडाउन खुकुलो बनाउनेबारे केही निर्णय नभएको जानकारी दिइन् । उनले व्यापारीहरुका आफ्नो माग भएको र कोरोना संक्रमितहरु बढिरहेको अवस्थामा लकडाउन खुकुलो बनाउने निर्णय नभएको जानकारी दिइन् ।

‘व्यापारीहरुले लकडाउन खुकुलो बनाउनुपर्यो भन्ने माग गर्नु भएको छ’, काठमाडौंपाटीसँग कुरा गर्दै सिडिओ पाण्डेले भनिन्, ‘त्यसमा त हामीले केही गर्न सक्नदैनौं । उहाँहरुका कुरा सुन्ने र उहाँहरुका कुरालाई सरकारलाई सिफारिस पठाउने त्यति न हो । हामीले आज पनि लकडाउनमा कडाई गरेका छौं । पास बिनाका गाडी हिँड्न दिएका छैनौं । अत्यावश्यक बाहेका गाडीहरु गुडेकै छैनन् । ’

उनले व्यापारीलाई पसल खोल्न नभनेकाले आफूहरुले स्वीकृति दिन नमिल्ने बताइन् । ‘अत्यावश्यकका पसलहरु खुलेकै छन् ।अन्य पसल खोल्ने निर्णय सरकारले गरिसकेको छैन् । उहाँ(व्यापारी)हरुले पनि जर्बजस्ती गर्नुभएको छैन् । उहाँहरुको सरकारले हामीलाई सेड्युल मिलाएर अनुमित दिनूस् भन्ने माग हो । यस विषयमा सरकारले केही सुनुवाई गर्ला नि त ।

त्यस्तै उनीहरुले विदेशबाट नेपाल ल्याउन लागिएका नेपालीहरूको व्यवस्थापन गर्ने निर्णय गरेका छन् ।

सरकारले पछिल्लो पटक जेठ ३२ सम्म लकडाउन गर्ने निर्णय गरेपनि लकडाउनलाई कुन रुपमा लैजाने भन्ने निर्णय गर्न सकेको छैन ।