काठमाडौं – बाजुराको खप्तड छेडेदह गाउँपालिकाको क्वारेन्टिनमा बसेका एक जनाको मृत्यु भएको छ । बाजुराको खप्तड छेडेदह गाउँपालिका ७ स्थित मष्टा आधारभुत विद्यालयको क्वारेन्टिनमा बसेका ६५ वर्षीय पुरुषको मृत्यु भएको हो ।
उनी जेठ १५ गते भारतबाट आएर क्वारेन्टाइनमा बसेका थिए । उनको शनिबार बिहान मृत्यु भएको खप्तड छेडेदह गाउँपालिका ७ का वडाध्यक्ष खगेन्द्र रावतले बताए। शुक्रबार साँझदेखि खाना नखाएका उनको शनिबार बिहान मृत्यु भएको हाे । गाउँकै मष्टा आधारभूत विद्यालय बुढाबाडामा रहेको क्वारेन्टाइनमा उनको मृत्यु भएको वडाध्यक्ष रावतले बताए ।
मृतक २५ वर्षदेखि भारतमा बस्दै आएका थिए । उनमा कोरोना संक्रमण थियो कि थिएन भनेर परीक्षणका लागि स्वाब संकलन गर्ने तयारी भइरहेको उनले जानकारी दिए ।
मृतकको कोरोना परीक्षणका लागि स्वाब संकलन गरिने प्रमुख जिल्ला अधिकारी कृष्ण गैरेले बताएका छन् । मृतकको स्वाब संकलन गरी धनगढी प्रयोगशालामा पठाउने र उनको शव नेपाली सेनाले व्यवस्थापन गर्ने तयारी भइरहेको उनले जानकारी दिए ।




प्रतिक्रिया