काठमाडौं – सभामुख अग्निप्रसाद सापकोटाले संसदमा शिष्टता पूस्तुत गर्न सांसदहरुलाई रुलिङ गरेका छन् ।
आइतवार बसेको प्रतिनिधिसभाको बैठकमा राजपा सांसद चन्दा चौधरीले ‘भारतीय चेलीको दादागिरी’ भन्ने अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन माग गरेकी थिइन् ।
त्यसलगत्तै सभामुख सापकोटाले सांसदहरुलाई रुलिङ गर्दै सबै विवरण लिएर कार्यव्यवस्था परामर्श समितिमा छलफल गर्ने बताएका छन् ।
‘त्यो विषयमा मैले रुलिङ गरिसकेको छु । सबै विवरण लिएर कार्यव्यवस्था परामर्श समितिमा छलफल गर्छु । यो विषयमा नबोलौं, नत्र मैले माइक काट्नुपर्ने हुनसक्छ,’ सभामुख सापकोटाले भने ।
सांसद चौधरीले नेपालको संसदमा गजेन्द्र नारायण सिंह, हृदेयश त्रिपाठी लगायत वंशज नागरिक पनि हिन्दी भाषामा बोल्दै आएको बताइन् ।
चौधरी बोलेपछि सभामुख सापकोटाले व्यक्तिगत टिकाटिप्पणीमा नउत्रन सांसदहरुको ध्यानाकर्षण गराएका छन् । ‘केही कुरा स्पष्ट पार्न चाहन्छु । माननीय सदस्यले बोल्ने क्रममा आरोप–प्रत्यारोप जस्तो भएको छ । नियमावलीको २१ को (ङ)तिर हेर्न आग्रह गर्छु,’ सभामुख सापकोटाले भने, ‘सबैको बुद्धि विकेक लगाएर सदन चलाइरहेका छौं । राष्ट्रिय महत्त्वका काम गरेर महत्त्वपूर्ण सन्देश दिन गइसकेको समयमा व्यक्तिगत आरोप प्रत्यारोप र टिकाटिप्पणी नगरौं । कार्यव्यवस्थामा सबै विवाद पल्टाएर हेर्नेछौं । सबै माननीय सदस्यहरुले नियमावलीलाई ख्याल गरेर बोलिदिनुहोला । सबैको यथोचित छानबिन हुनेछ ।’
गते जेठ १९ गतेको संसद बैठकमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)सांसद गंगा चौधरीको अभिव्यक्तिलाई लिएर पछिल्ला केही बैठकमा समाजवादी पार्टीका सांसदहरुले नामै लिएर अभिव्यक्ति दिइरहेपछि सभामुखले दोस्रो पटक रुलिङ गरेका हुन् ।




प्रतिक्रिया