काठमाडौं – प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद गगन थापाले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका कार्यक्रमले निराश बनाएको बताएका छन् ।
आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद थापाले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममाथि प्रश्न उठाएका छन् ।
‘शिक्षामन्त्रीलाई सोध्न मन लागेको छ, राष्ट्रपतिलाई श्री ६ बनाउने रहर किन पलायो ?,’ उनले प्रश्न गरे, ‘राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम भनेर हिजो राजाले बक्सिस मारेकोजस्तो राष्ट्रपतिले खुट्टा टेकेको ठाउँमा मनलाग्दै गर्दा पैसा दिन पाउने कार्यक्रम संघीयता, संविधान र व्यवस्थाविरोधी छ ।’
यस्तो कार्यक्रमलाई छ अरब बजेट दिइएको थापाको भनाइ छ । ‘गत वर्ष पाँच अरब बजेट भएको यस्तो कार्यक्रमलाई अहिले छ अरब बजेट?’ उनले भने ।
उनले शिक्षामन्त्रीले यस्ता कार्यक्रम बनाउँदा तलब नपाएका सहजकर्ता, शिक्षक र आशिंक प्राध्यापकको याद गर्नुपर्ने बताए ।
‘यो कार्यक्रम बनाउँदा अलिकति याद आएन इडिसिडीका सहजकर्ता, तलब नपाएर बसेका शिक्षक, आंशिक प्राध्यापक भोकै बसेको ?’ उनले प्रश्न गरे ।
उनले एक जना शिक्षक राख्न नसकेको शिक्षक स्वयम सेवक कार्यक्रमलाई एक अरब ५० करोडबाट बढाएर दुई अरब २३ करोड बजेट दिइएको उल्लेख गरे ।
उनले आफूहरुले एसईई खारेजलगायतका बोल्ड निर्णय गरौं भनेर आग्रह गरेको भए पनि सुनुवाइ नभएको बताए ।
बजेट हेर्दा शिक्षा मन्त्रालयले अहिले ९० लाख विद्यार्थी विद्यालय गइरहेका छैनन् भन्ने थाहै नपाए जस्तो लागेको सांसद थापाले बताए । बाहिर सिकाइ तथा सहजीकरण मापदण्ड बनाएको सुनेको भए पनि बजेटले त्यसलाई नचिन्ने भन्दै उनले प्रश्न गरे, ‘ग्लोबल पार्टरसिप फर एजुकेसनेलले केही पैसा देला भनेर कचौरा थापेर चल्छ यो वर्ष ?




प्रतिक्रिया