काठमाडौं – परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले कोरोना भाइरसका कारण विदेशमा समस्यामा परेका २५ हजार नेपालीलाई पहिलो चरणमा स्वदेश ल्याउने बताएका छन् ।
मंगलबार प्रतिनिधिसभाको बैठकमा सांसदहरुले राखेको प्रश्नको जवाफ दिँदै मन्त्री ज्ञवालीले संकटमा परेका नेपालीलाई उद्धारको तयारी भइरहेको बताए ।
सरकारले विदेशमा संकटमा रहेका नेपालीहरूको तथ्यांक संकलन गर्ने र स्वदेश आउन चाहनेलाई सहज रूपमा ल्याउने गरी सरकारले आदेश जारी गरिसकेको पनि बताए ।
मन्त्री ज्ञवालीले कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्र फिर्ता भएसँगै त्यहाँ गरिनुपर्ने प्रशासनिक, सुरक्षा र विकास सम्बन्धि कामहरु अघि बढ्ने बताए ।
उनले सरकारले दार्चुलादेखी टिङ्करसम्म नेपाली भुभाग भएरै सडक निर्माण कार्य सुरु गरिसकेको बताए ।
‘अब आफ्नै जिल्ला सदरमुकाम आउन पनि भारतीय भूभाग भएर आउनुपर्ने बाध्यता यसै बर्ष समाप्त हुँदैछ । उक्त क्षेत्रमा विओपी पनि स्थापना भइसकेको छ । सीमा सुरक्षा र सीमा व्यवस्थापनको कार्यलाई पनि सँगैसँगै अघि बढाइएको छ’, उनले भने, ‘नेपाल भारत सीमानामा रहेका सीमा स्तम्भको निर्माण, पुनर्स्थापना र मर्मतका साथै दशगजा अतिक्रमण र क्रसबोर्डर होल्डिङको लगत तयार गर्नेजस्ता प्राबिधिक काम सम्पन्न गर्न बाउन्ड्रि वर्किङ ग्रुपले काम गरिरहरेको छ ।’




प्रतिक्रिया