काठमाडौं – संघीय मामिला तथा समान्य प्रशासन मन्त्री हृदयश त्रिपाठीले कोरोना भाइरस संक्रमितको उपचार गर्न विदेशबाट चिकित्सक नल्याउने बताएका छन् ।
मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै मन्त्री त्रिपाठीले कोरोनाविरुद्धको उपचारमा नेपालका चिकित्सकहरु नै सक्षम रहेकाले चीनलगायत अन्य मुलुकबाट चिकित्सकहरु नल्याइने प्रष्ट पारेका छन् ।
कांग्रेसका सांसदअतहर कमाल मुसलमानले चीनबाट चिकित्सकसँगै चिनियाँ जनमुक्ती सेना ल्याउन लागिएको विषयमा मन्त्रीको धारणा माग गरेका थिए
‘अहिले सरकारको बारेमा एउटा बडो जटिल कुरा उठेको छ, हेल्थ इमरजेन्सीमार्फत चीनबाट डाक्टरको टीम ल्याउने त्योभित्र पीएलएसहित तल (तराई) पठाउने कोभिड नियन्त्रणका लागि । यदि स्थानीय तहले माग गर्दैन भने स्थानीय तहमा नपठाइयोस्,’ सांसद मुसलमानले भने, ‘कालापानीमा सेना दौडिएको छ, सगरमाथामा दौडेको छ, अब तराईका जिल्लामा पीएलएको सेना दौडियो भने हामी रणभूमिमा पर्ने छौं, मन्त्रीज्यूले स्थानीय सरकारको अधिकारको रक्षा गर्नुहुनेछ ।’
जवाफमा मन्त्री त्रिपाठीले विदेशी चिकित्सक ल्याउनेबारे सरकारले कुनै गृहकार्य नगरेको स्पष्ट गरे ।
‘हामी हाम्रा चिकित्साकर्मी, जनस्वास्थ्यकर्मीमाथि पूरा विश्वास छ, पूरा विश्वास भएकोले कहिँ कतैबाट चिकित्सक ल्याउँदैनौं,’ मन्त्री त्रिपाठीले भने, ‘त्यो स्पष्ट हो, हाम्रै चिकित्साकर्मीहरु सक्षम छन्, अहिलेसम्म कोभिड–१९ बिरुद्धमा जति लडे हाम्रै चिकित्साकर्मी लडेका छन्, हाम्रै नर्सहरु लडेका छन, आँफै जोखिम मोलेर लडेका छन् । त्यसकारण कुनैपनि देशबाट चिकित्सक ल्याउँदैनौं ।’




प्रतिक्रिया