काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी सांसद डा. डिला संग्रौला पन्तले नेपालको राष्ट्रियता, राष्ट्रिय अखण्डता र स्वाधिनताको लागि नेपाली कांग्रेस सँधै दृढ भएर उभिने बताएकी छन् ।
मंगलबार प्रतिनिधिसभामा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री डा. शिवमाया तुम्बाहाङ्फले ‘नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७ माथि विचार गरियोस् भनी प्रस्तुत गरेको प्रस्तावमाथिको छलफलमा बोल्दै उनले नेपालले भारतले अतिक्रमण गरेको भूभागसहितको नयाँ नक्सा सार्वजनिक गरेर र आफ्नो गुमेको भूमि फिर्ता ल्याएर नयाँ इतिहास रच्ने बताएकी छन् ।
‘कालापानी, लिपुलेक, लिम्पियाधुरा नेपालको अविभाज्य भूमी हो । नेपालको राष्ट्रियता राष्ट्रिय अखण्डता र स्वाधिनताको लागि नेपाली कांग्रेस सँधै दृढ भएर उभिएको छ । त्यसैले यो प्रस्तावमा म सगौरव समर्थन गर्दछु’, उनले भनिन्, ‘हामी नयाँ इतिहास रच्दैछौं, नयाँ बाटो कोर्दैछौं । यो बेलामा हामीले सन् २०१५मा भारत र चीनले नेपालको भूमि लिपुभञ्ज्याङ व्यापारीक नाकाको रुपमा प्रयोग गर्ने निर्णय गरे । त्यसैबेला तत्कालिन प्रधानमन्त्री सुशिल कोइरालाले प्रोटेस्ट नोट पठाएको कुरालाई पनि सम्झिन चाहान्छु ।’
त्यस्तै उनले भारतले अतिक्रमण गरेको भूभाग नेपालको हो भनेर पर्याप्त प्रमाणहरु रहेको बताएकी छन् ।
‘१८१६को सुगौली सन्धि त्यसपछाडिको पुरक सन्धि २०१८ सालको जनगणना , २०१५ सालमा त्यस भेगका जनताले गरेको मतदान, त्यसभेगका जनताले तिरेको रसिद र भारतले बारम्बार प्रकाशित गरेको नक्सामा नै लिपुलेक, लिम्पियाधुरा र कालापनी नेपालको भूभाग हो भनेर देखाइसकेको छ’, उनले भनिन् ।
सांसद संग्रौलाले कुनै पनि राष्ट्र भूगोल, विकासको दृष्टिकोणले धनी गरिब भए पनि राष्ट्रियताको सवालमा तलमाथि नहुने बताएकी छन् ।
‘त्यसैले भूगोल, विकासको दृष्टिकोणले कुनै पनि राष्ट्र सानो ठूलो धनि गरिब हुन सक्छ तर, राष्ट्रियताको सवालमा सानो ठूलो र गरिब हुन सक्दैन । त्यसले यी भूमि नेपालको भूमि हो । यो प्रस्तावलाई समर्थन गर्दछु ।’, उनले भनिन् ।




प्रतिक्रिया