काठमाडौं– सैनिक ब्यारेकभित्र कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)को कार्यालय राखेको भन्दै विरोध भएपछि त्यसको पहिलो वैठक सिंहदरबारमा बसेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा सिसिएमसीको बैठक यो समाचार तयार पार्दासम्म जारी छ ।
उपप्रधानमन्त्री एवम् रक्षा मन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा रहेको सिसिएमसीमा सुरुमा गृहमन्त्री रामबहादुर थापा, स्वास्थ्य मन्त्री भानुभक्त ढकाल, उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री लेखराज भट्ट, अर्थमन्त्री युवराज खतिवडा र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री हृदयेश त्रिपाठी सदस्य थिए। तर, उक्त समितिले प्रभावकारी काम गर्न नसकेको गुनासो आएपछि समितिमा चार जना मन्त्रीलाई थपिएको थियो ।
अहिले कृषि मन्त्री घनश्याम भुषाल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, पर्यटनमन्त्री योगेश भट्टराई र उर्जा मन्त्री वर्षमान पुन थपिएका छन्। मन्त्रिपरिषदको वैठकमा सिसिएमसीको कार्यालय सैनिक ब्यारेकभित्र राख्न नहुने धारणा मन्त्रीहरुले राखेका थिए । त्यसपछि वैठक सिंहदरवारमा सारिएको हो ।
सिसिएमसीको कार्यालय नेपाली सेनाको छाउनीस्थित रेञ्जर गणमा राखेको भन्दै सत्तारुढ दल नेकपाभित्रै त्यसको विरोध भएको थियो । गत चैत १६ मा उपप्रधानमन्त्री पोखरेलको नेतृत्वमा सिसिएमसी गठन भएको थियो । सेनाले अमेरिकी सहयोगमा बनेको महाविर गणमा कार्यालय राख्न प्रस्ताव गरेपछि रक्षामन्त्री समेत रहेका पोखरेलले त्यसलाई स्विकृती प्रदान गरेका हुन् ।
सेनाको गणमा बैठक राख्दा राम्रो सन्देश नजाने भन्दै मन्त्रीहरुले नै कुरा उठाएपछि त्यसको वैठक सिंहदरवारमा भएपनि कार्यालय भने छाउनीमै रहेको छ । रक्षामन्त्री पोखरेलका प्रेस संयोजक लोकेन्द्र केसीले सिसिएमसीको वैठक सिंहदरवारमा बसिरहेको जानकारी दिए ।
प्रधानमन्त्री ओलीले पछिल्लो समय रक्षामन्त्री पोखरेल संयोजक रहेको उच्चस्तरीय समन्वय समितिलाई भने निष्क्रिय बनाएका छन् । प्रधानमन्त्री मन्त्रिपरिषदकै वैठकमा आफु विरामी भएको वेला समिति गठन भएको तर अहिले त्यसले काम गर्न नसकेकोमा असन्तुष्टि समेत जनाएको स्रोत दावी छ । उनले यसको कोरोना रोकथामको कामको नेतृत्व अवदेखी आफुले गर्ने संकेत पनि दिएका छन् ।
मन्त्रिपरिषदका एक सदस्यकाअनुसार उनले सिसिएमसीलाई अघि बढाउने संकेत उक्त वैठकमा गरेका थिए । पछिल्लो समय प्रधानमन्त्री ओलीले नै सिसिएमसीमार्फत नै कामहरु अघि बढाइरहेका छन् । जेठ ७ गते प्रधानमन्त्री ओलीले सिसिएमसीको कार्यालयमा पुगेर ३ घन्टा ब्रिफिङ लिएका थिए ।
विदेशमा रहेका नेपालीलाई स्वदेश फर्काउने र त्यसको व्यवस्थापन गर्ने र लकडाउन खुकुलो बनाउने कार्ययोजना समेत सिसिएमसीले नै वनाएको हो ।




प्रतिक्रिया