काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले स्वास्थ्यमन्त्री भानुभक्त ढकालको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ ।
नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवं प्रतिनिधिसभासदस्य डा. डिला संग्रौला पन्तले सकडमा स्वतस्फूर्त रुपमा सरकारविरुद्ध आएका युवाहरुको समूहलाई राजनीतिसँग नजोड्न मन्त्री ढकाललाई चेतावनी दिएकी छन् ।
‘सरकार आफ्ना कमि कमजोरी लुकाउन हर प्रयत्नशील देखिन्छ । बास्तबिकरुपमा जनताले उठाएका कुराहरुलाइ गल्ती स्वीकार गरि अगाडि बढ्नुको सट्टा आफैं मैमत्ता भएर सडकमा स्वतः स्फुर्त रुपमा उर्लिएको जन लहरलाई दबाउने दुस्प्रयास गर्दैछ’, उनले भनिन् ।
सरकार निभ्ने बेलाको बत्ति जस्तो भएको टिप्पणी सांसद संग्रौलाको छ । उनले सरकारलाई होसियार बन्न सुझाव दिएकी छन् ।
‘ यो निभ्ने बेलाको बत्ती जस्तै भएको छ । होसियार बन सरकार । आफ्ना कमि कमजोरीलाई सच्याउ, भस्टाचार छल्न सरकारले सडकमा उर्लिएको हजारौ युवाहरुको आवाजलाई नबुझि उल्टै स्वास्थ्य मन्त्रीले राजनीतिको संज्ञा दिदै जाने हो भने नेपाली जनता अब चुपलागेर बस्दैनन ,खबरदार सरकार । पछुताउनु पर्ला । युवाहरुमाथिको दमन शोषण बन्द गर । दस अरबको हिसाब किताब सार्बजनिक गर’, उनले भनिन् ।
मन्त्री ढकालले कोरोनामा राजनीतिको प्रवेश भएको र राजनीति सवार कोरोनालाई व्यवस्थापन गर्न कठिन भएको बताएका थिए ।
पीसीआर परीक्षणको दायरा बढाउन माग गर्दै पछिल्लो समय सरकारविरुद्ध भइरहेका प्रदर्शनहलाई लक्षित गर्दै मन्त्री ढकालले कोरोनामा राजनीति मिसिने खतराहरु बढेको बताएका थिए ।
‘सुरुमा रोगबाट मात्रै आक्रान्त थियौँ हामी, पछिल्लो दिनमा राजनीति पनि मिसियो’, उनले भनेका थिए, ‘ खतराहरु बढ्दै गएको हुनाले अब राजनीतिक कोरोनासँग लड्नका लागि विश्वको भन्दा फरक मोडालिटीमा प्रवेश गर्न लागेका छौँ ।’




प्रतिक्रिया